पेलेको दुर्लभ रेकर्ड भंग गर्नबाट मेस्सी २६ गोलले टाढा !

काठमाडौं, पुस पुस १८
स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीका लागि वर्ष २०२० विशेष र ऐतिहासक वर्ष हुने पक्का छ । १६ वर्षदेखि लगातार बार्सिलोनाको जर्सीमा खेलिरहेका मेस्सीले अर्को वर्ष ब्राजिलका लिजेन्ड खेलाडी पेलेले बनाएको एक क्लबका लागि सर्वाधिक गोलको दुर्लभ रेकर्ड भंग गरेर आफ्नो नाममा लेखाउनेछन् ।

७९ वर्षका पेलेले आफ्नो करिअर दौरान ब्राजिलको घरेलु क्लब सान्तोषका लागि कूल ६४३ गोल गरेका थिए । यो ऐतिहासिक रेकर्ड हो । अर्थात्, फुटबलको इतिहासमा कुनै पनि खेलाडीले एक क्लबका लागि सबैभन्दा बढी गोल गरेका छन् भने उनी पेले हुन् ।

पेलेले सन् १९५६ देखि १९७४ सम्म गरी कूल ६४३ गोल गरेका थिए । त्यत्ति गोलका लागि उनले कूल ६५६ खेले खेलेका थिए । पेलेले आफ्नो सम्पूर्ण व्यावसायिक करिअर सान्तोषमै बिताएका थिए । जहाँ उनले पहिलो वर्ष एक खेलबाट १ गोल गे भने अन्तिम वर्ष २७ खेलबाट १० गोल गरेका थिए ।

यता, ३२ वर्षका मेस्सी अब पेलेको सो रेकर्ड बराबरी गर्नाबट  मात्रै २५ गोल र सो रेकर्ड तोडेर आफ्नो नाममा लेखाउनबाट २६ गोलले टाढा छन् । र, मेस्सीले सो आँकडा २०२० मा पार गरेर पेलेको नामको दुर्लभ रेकर्ड भंग गर्दै आफ्नो नाममा लेखाउने छन् । मेस्सीले हालसम्म बार्सिलोनाका लागि सबैखाले प्रतियोगिताबाट कूल ६१८ गोल गरिसकेका छन् । उनले ७०५ खेलबाट ६१८ गोल गरेका हुन् ।

मेस्सीले जारी सिजनभित्रै २६ गोल गर्ने निश्चिप्रायः छ । यदि गम्भीरखाले चोटमा नपरे उनले सिजन २०१९–२० नसकिँदै पेलेको सो रेकर्ड भंग गरिसक्नेछन् । २०२० मा बार्सिलोनाले ला लिगाका २० खेल खेल्न बाँकी छन् भने बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा छ । त्यस्तै, कोपा डेल रे फुटबलमा मेस्सी खेल्ने हुँदा उनले जारी सिजन नै पेलेको रेकर्ड भंग गर्नेछन् ।

प्रकाशित मिति १८ पुष २०७६, शुक्रबार १६:३२
Loading...