प्रिमियर लिग : घरेलु मैदानमा आर्सनलद्वारा युनाइटेडको धुलाइ !

काठमाडौं, पुस १७
इंग्लिस प्रिमियर लिग फुटबलमा पछिल्लो समय जितको खडेरीबाट गुज्रिरहेको आर्सनलले पाँच खेलपछि जित निकालेको छ । गत राति भएको खेलमा उसले पाहुना टोली म्यानचेस्टर युनाइटेडलाई २–० को नमिठो हार चखायो ।

आर्सनल लिगमा पछिल्ला पाँच खेलमा जितविहीन थियो । तर, नयाँ प्रशिक्षकका साथमा चर्को दबाबमा रहेको आर्सनलले आफ्नो घरमा उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकालेर जितको खडेरी टारेको हो । आर्सनलले लिगमा अन्तिमपटक डिसेम्बर १० मा वेस्ट ह्यामलाई हराए यता जित निकालेको थिएन ।

आर्सनललाई आफ्नो घरमा जिताउनेक्रममा २ वटै गोल पहिलो हाफमा भए । खेल सुरु भएको आठौं मिनेटमै क्लबका कीर्तिमानी नयाँ खेलाडी निकोलास पेपेले सुन्दर गोल गरेका थिए ।

त्यसपछि खेलको ४२औं मिनेटमा आर्सनलले अग्रता बढायो । पेपेले हानेको कर्नर किकमा लाकाजेटीले फ्लिक गरेको बलमा सोक्राटिसले सुन्दर प्रहार गर्दै बललाई जाली चुमाएपछि आर्सनलले पहिलो हाफमा २–० को अग्रता बनायो ।

त्यसपछि युनाइटेडले दोस्रो हाफमा खेलमा फर्किन लगातार प्रयास गरे पनि सकेन । र, खेल आर्सनलले २–० ले जित्यो ।

यो जितपछि आर्सनल लिगमा जितको बाटोमा फर्किएको छ भने नयाँ प्रशिक्षक आर्टेटामाथि पनि दबाब कम भएको छ । अब आर्सनल २१ खेलबाट २७ अंक जोडेर लिगको १०औं स्थानमा चढेको छ । पराजित युनाइटेड समान खेलपछि ३१ अंक बनाएर पाँचौं स्थानमा यथावत छ ।

प्रकाशित मिति १७ पुष २०७६, बिहीबार ०८:१९
Loading...