जेसस चम्किँदा एभर्टनमाथि सिटीको सहज जित

काठमाडौं, पुस १७
इंग्लिस प्रिमियर लिग फुटबलमा साबिक विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । गत राति भएको खेलमा सिटीले आफ्नो घरेलु मैदानमा पाहुना टोली एभर्टनलाई २–१ ले हरायो ।

सिटीको जितमा ब्राजिलियन खेलाडी ग्याब्रिएल जेसस नायक बने । २ वटै गोल उनैले गरे । निकै प्रतिस्पर्धात्मक खेलमा सिटीका लागि ५१औं मिनेटमा जेससले पहिलो गोल गरेका थिए । त्यसपछि ५८औं मिनेटमै उनले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले सहज अग्रता बनाएको थियो ।

तर, खेलको ७१औं मिनेटमा एभर्टनका लागि ब्राजिलकै खेलाडी रिचार्लिसनले गोल गरेर पाहुना टोलीलाई खेलमा फर्काउने संकेत गरेका थिए । तर, त्यसपछि बाँकी समयमा दुवै टोलीबाट गोल नभएपछि खेल सिटीले २–१ ले जित्यो ।

अब यो जितपछि सिटीले २१ खेलबाट कूल ४४ अंक जोडेको छ । सिटी अझै दुई खेल कम खेलेको लिभरपुलभन्दा ११ अंकले पछि छ । यता, पराजित एभर्टन २१ खेलबाट २५ अंक बनाएर ११औं स्थानमा छ ।

प्रकाशित मिति १७ पुष २०७६, बिहीबार ०७:५३
Loading...