‘एजेन्ट’ रोनाल्डो : युभेन्टसमा तेस्रो खेलाडी भित्र्याउन सक्रिय !

एजेन्सी, पुस १६
इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्यिानो रोनाल्डो क्लबका लागि खेलाडी मात्रै हैनन्, पर्दापछाडिका ‘एजेन्ट’ पनि हुन् । रोनाल्डोलाई अहिले ‘एजेन्ट खेलाडी’ भनेर पनि चर्चा गरिन्छ । कारण, युभेन्टस गइकन उनले क्लबमा केही नयाँ खेलाडी भित्र्याउन परोक्ष रूपमा भूमिका खेलेका छन् ।

गत समरमा डच क्लब आयाक्सबाट युवा डिफेन्डर माथिस डि लिग्ट युभेन्टस आउनुमा पनि रोनाल्डोले नै मध्यस्थताको काम गरेका थिए । यो कुरा डि लिग्ट स्वयं पनि स्वीकार्छन् । रोनाल्डेकै कारण डि लिग्ट युभेन्टस पुगेको बताइन्छ ।

त्यसपछि फ्रेन्च क्लब पिएसजीबाट मिडफिल्डर राबिओट युभेन्टस अनुबन्ध हुनुमा पनि रोनाल्डोकै भूमिका रहेको छ । रोनाल्डोसँग व्यक्तिगत रूपमा राम्रो सम्बन्ध भएका राबिअ‍ोट रोनाल्डोकै सल्लाहमा युभेन्टस पुगेका थिए ।

युभेन्टसमा एकै विन्डोमा दुईजना खेलाडी भित्र्याउन भूमिका खेलेका रोनाल्डो अहिले तेस्रो खेलाडी भित्र्याउन क्लबलाई सघाइहेका छन् । युभेन्टसले लिग प्रतिस्पर्धी क्लब पार्माका युवा मिडफिल्डर डेजान कुलुसेभ्सिक भित्र्याउन प्रयास गरिरेको छ । हाल टोलीमा असन्तुष्ट रहेका इम्री च्यानले क्लब छाड्ने सम्भावना बढेपछि युभेन्टस नयाँ खेलाडीको खोजीमा छन् । र, त्यसका लागि उसले स्वीडेनका १९ वर्षका युवा मिडफिल्डरलाई टार्गेटमा राखेको छ ।

इटालियन मिडियाका अनुसार अहिले डेजान भित्र्यान रोनाल्डोले व्यक्तिगत रूपमा डेजानसँग कुरा गरिरहेका छन् । डेजान रोनाल्डोका ठूला फ्यान भएकाले पनि उनको अनुबन्धमा रोनाल्डो प्रभावकारी हुने ठानेर क्लबका निर्देशक फावियो पारासिटीले रोनाल्डोलाई डेजानसँग प्रारिम्भक छलफल चलाउन र उनलाई सरुवाका लागि ‘मनाउन’ भनेको ‘टुट्टो स्पोर्ट’ले जनाएको छ ।

प्रकाशित मिति १६ पुष २०७६, बुधबार २१:५९
Loading...