वर्षको पहिलो खेलमा चेल्सी बराबरीमा रोकियो

काठमाडौं, पुस १६
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी वर्ष २०२० को पहिलो खेलमा बराबरीमा रोकिएको छ । बुधबार भएको लिगको २१औं खेलमा चेल्सी अवे मैदानमा ब्राइटनसँग १–१ को बराबरीमा रोएिको हो ।

ब्राइटनको घरेलु मैदानमा चेल्सीले सुरुआती अग्रता लिए पनि जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । खेलको १०औं मिनेटमा डिफेन्डर केसारले चेल्सीका लागि गोल गरेका थिए । सोही गोलको अग्रता लिएर चेल्सी जितनजिक पुगेको थियो ।

तर, खेलको ८४औं मिनेटमा घरेलु टोली ब्राइटनका लागि अलिरेजले बाइसाइकल किकमा शानदार गोल गरेर खेल १–१ बनाए । त्यसपछि खेलमा थप गोल नभएपछि खेल १–१ को बराबरीमा सकियो ।

अब यो बराबरीपछि चेल्सीले २१ खेलबाट ३६ अंक जोडेको छ । ऊ चौथो स्थानमा यथावत छ । ब्राइटन २४ अंकसहित १३औं स्थानमा छ ।

प्रकाशित मिति १६ पुष २०७६, बुधबार २०:२२
Loading...