२०२० मा मेस्सीको लक्ष्य : कोपा अमेरिका, च्याम्पियन्स लिग र सातौं बालोन डि‘ओर

काठमाडौं, पुस १६
स्पेनिस बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सी चाँडै ३३ वर्ष लाग्दैछन् । तर, उनले हालसम्म अर्जेन्टिनाको सिनियर टोलीबाट एउटा पनि उपाधि जित्न सकेका छैनन् । जसका कारण अर्जेन्टिनामा सधैं उनको चर्को आलोचना हुँदै आएको छ । आफ्नै देशमा घरेलु समर्थकले पटक–पक मेस्सीको सम्मानमा बनाइएको सालिक तोडफोड गरिसकेका छन् । अर्जेन्टिनामा मेस्सीको अवस्था कस्तो छ भनेर यो घटनाले देखाउँछ ।

तर, मेस्सी अझै पनि देशका लागि उपाधि जित्न चाहन्छन् । उनी अझै पनि ढिलो–चाँडो अर्जेन्टिनी टोलीबाट उपाधि जित्ने आशामै छन् । क्लब फुटबलमा सबैखाले प्रतियोगिता जितिसकेका मेस्सीले पछिल्लो दशकमा मात्रै एक विश्वकप र दुई कोपा अमेरिका गरी तीन ठूला प्रतियोगिताका फाइनल देशबाट खेले । तर, सबैमा उनी निराश बने । सन् २०१४, २०१५ र २०१६ मा लगातार मेस्सीका लागि अन्तर्राष्ट्रिय करिअरमा निराशा र पीडाका वर्ष रहे ।

यसै वर्ष पनि मेस्सीले अर्जेन्टिनाबाट कोपा अमेरिका खेले । तर, उनको टिम सेमिफाइनलभन्दा अघि बढ्न सकेन । गत वर्ष विश्वकपमा पनि अर्जेन्टिनाको यात्रा अन्तिम १६ मै टुंगियो । मेस्सी देशको जर्सीमा यसरी लगातार असफल हुँदै आएका छन् । क्लबबाट लिगका खेललाई छाड्ने हो भने मेस्सी ठूला प्रतियोगितामा पटक–पटक निराश हुँदै आएका छन् ।

तर, वर्ष २०२० लाई मेस्सी फरक बनाउने योजनामा छन् । यस वर्ष पनि दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिका हुँदैछ । र, मेस्सीले फेरि एकपटक देशको कप्तानी गर्नेछन् । र, ३२ वर्षका मेस्सी यसपटक देशको जर्सीमा फरक कहानी लेख्ने योजनामा छन् ।

२०२० मा मेस्सी केही खास सफलता र उपाधिका लागि लड्नेछन् । उनका लागि सबैभन्दा महत्त्वपूर्ण राष्ट्रिय टोलीबाट कोपा अमेरिकाको उपाधि जित्नु हुनेछ । हाल ३२ वर्षका पुगेका मेस्सीले यसपटक पनि देशबाट उपाधि जित्न नसके सम्भवतः उनका लागि यो नै अन्तिम टुर्नामेन्ट हुनेछ । लगातार असफलताको पीडाबाट पिल्सिँदा निराश बनेर मेस्सीले राष्ट्रिय टोली छाड्ने प्रबल सम्भावना छ । उनले २०१६ मै राष्ट्रिय टोलीबाट सन्यास लिएर पछि फिर्ता लिएका थिए । यसपटक आफ्नै देशमा आयोजना हुने कोपा जित्न नसके २०२२ को विश्वकपअघि नै उनले राष्ट्रिय जर्सी फुकाल्न सक्ने अनुमान गर्न कठिन छैन । उमेरका हिसाबले पनि कतार विश्वकपसम्म पुग्दा मेस्सी ३५ वर्षका हुनेछन् । र, त्यो उमेर राष्ट्रिय टिमका लागि सही समय मानिँदैन ।

यता, मेस्सी २०२० मा बार्सिलोनाबाट कुनै पनि हालतमा युरोपियन च्याम्पियन्स लिग जित्न चाहन्छन् । हालसम्म चारपटक यो उपाधि जितेका उनी पाँचौं उपाधिको खोजीमा छन् । र, यसवर्ष उनका लागि यो प्रतियोगिता पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ । टोलीका कप्तान उनी यो सिजन ला लिगा र कोपा डेल रे हारेर भए पनि टिमलाई युरोपको ठूलो प्रतियोगिता जिताउने योजनामा छन् ।

पछिल्ला चार सिजन लगातार च्याम्पियन्स लिगको फाइनल नपुगी आउट हुँदै आएको बार्सिलोनाका लागि यो प्रतियोगिता जित्न सहज भने देखिँदैन । यो सिजन सामान्य स्तरको मात्रै प्रदर्शन गरिरहेको बार्सिलोनालाई अन्तिम १६ बाट अघि बढ्नै चुनौतीपूर्ण देखिन्छ । अन्तिम १६ मा बार्सिलोनाको प्रतिस्पर्धी इटालीको क्लब नापोली छ ।

२०१९ मा कीर्तिमानी छैटौंपटक बालोन डि‘ओर जितेका मेस्सी २०२० मा सातौं बालोन डि‘ओरको खोजीमा हुनु स्वभाविक हुनेछ । तर, त्यसका लागि उनले बार्सिलोनाबाट च्याम्पियन्स लिग जित्दै व्यक्तिगत रूपमा उच्च प्रदर्शनलाई कायम राख्नुपर्ने हुन्छ । यदि बार्सिलोनाबाट च्याम्पियन्स लिग नजिते पनि ला लिगासहित अर्जेन्टिनाबाट उच्च प्रदर्शनसहित कोपा अमेरिका जित्न सके पनि मेस्सी सातौं बालोन डि‘ओरका लागि एक दाबेदार बन्नेछन् । तर, यस वर्ष कोपा अमेरिका, युरो कपजस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता पनि रहेकाले अबको बालोन डि‘ओरमा झनै कडा प्रतिस्र्धा हुनेछ । यस वर्ष साना उपाधि र सामान्य प्रदर्शनले बालोन डि‘ओरमा दाबेदार रहनेछैन ।

प्रकाशित मिति १६ पुष २०७६, बुधबार १८:५४
Loading...