रोनाल्डोलाई सर्वाधिक कमाउने फुटबलर बनाउँदै युभेन्टस : नयाँ सम्झौताको तयारी

एजेन्सी, पुस १६
इटालियन क्लब युभेन्टसले आफ्ना प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोसँग नयाँ सम्झौता गर्ने तयारी गरेको छ । इटालियन मिडिया रिपोर्टअनुसार रोनाल्डोको उच्च प्रदर्शन र व्यावसायिक रूपमा मिलेको अपत्यारियाले सफलताबाट मक्ख युभेन्टसले रोनाल्डोको सम्मानस्वरूप नयाँ सम्झौता गर्न तयारी गरेको छ । ‘टुट्टो स्पोर्ट’मा प्रकाशित समाचारअनुसार युभेन्टसले आगामी दुई महिनाभित्र ३५ वर्षका रोनाल्डोसँग नयाँ सम्झौता गर्नेछ ।

हाल ३४ वर्षका पुगेका रोनाल्डो आगामी फेब्रुअरीबाट ३५ वर्ष लाग्दैछन् । उनको हालको सम्झौता सन् २०२२ सम्मका लागि छ । तर, युभेन्टसले रोनाल्डोलाई सन् २०२३ सम्म क्लबमै राख्ने गरी नयाँ सम्झौताको खाका तयार पारिरहेको छ ।

यसअनुसार सम्झौता भए पाँचपटक बालोन डि‘ओर विजेता खेलाडी आफू ३८ वर्षको उमेरसम्म युभेन्टसमै रहनेछन् । रोनाल्डोले आफू ४१ वर्षको उमेरसम्म खेल्न सक्ने बताउँदै आएका छन् ।

रोनाल्डोलाई कतिसम्म आकर्षक प्रस्ताव युभेन्टसले गर्न सक्छ भन्ने कुरा दुई कुराले निर्भर गर्ने खबरमा उल्लेख छ । पहिलो, अबका दिनमा रोनाल्डोको प्रदर्शनको स्तर र लय । रोनाल्डो अहिले उत्कृष्ट लयमा फर्किएका छन् । र, टिमका लागि गोल गरिरहेका छन् । जारी सिजन यही लय कायम रहे युभेन्टस रोनाल्डोबाट थप सन्तुष्ट हुनेछ ।

दोस्रो, अबको दुई महिनापछि युभेन्टसले जारी सिजन कुन–कुन प्रतियोगिता जित्न सक्छ भन्ने कुराको तस्बिर देखिनेछ । यदि युभेन्टस घरेलु लिगसहित युरोपियन च्याम्पियन्स लिग जित्ने दिशामा अघि बढे युभेन्टसले त्यही बेला रोनाल्डोलाई आकर्षक प्रस्ताव अफर गर्ने तयारी गरेको छ ।

हालै दुबईमा वर्ष २०१९ का लागि वर्षको उत्कृष्ट खेलाडीको ग्लोब सकर अवार्ड जितेपछि रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेज र युभेन्टसका प्रमुख आन्ड्रेय एग्नेल्लीबीच रोनाल्डोको नयाँ सम्झौता र सीमाबारे छलफल भएको छ ।

युभेन्टसका निर्देशक फाबियो पारासिटीले यसै साता मेन्डेजसँग नयाँ सम्भावित सम्झौताको विषयमा ‘हेड टु हेड’ कुरा गर्ने तयार भएको खबरमा उल्लेख छ ।

सर्वाधिक कमाउने खेलाडी बनाउने तयारी !

रिपोर्टअनुसार युभेन्टस ३५ वर्ष लाग्न लागेका आफ्ना सुपरस्टार रोनाल्डोलाई यो समयकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनाउन तयार छ । बढ्दो उमेरबीच पनि रोनाल्डोको प्रदर्शन र उनको अनुबन्धले क्लबको बिजनेसमा पुगेको अपार सफलताबाट हौसिएको युभेन्टसले रोनाल्डोलाई प्रतिसिजन ४२ मिलियन युरोसम्म तलबको अफर गर्ने तयारीमा छ । रोनाल्डोलाई विश्वकै सर्वाधिक कमाउने खेलाडी बनाउँदा त्यसको फाइदा क्लबलाई हुने युभेन्टसको बुझाइ छ ।

हाल युभेन्टसबाट रोनाल्डोले प्रतिसिजन ३० मिलियन युरो तलबबापत थाप्छन् । त्यसबाहेक बोनस रकम अलग्गै हो । यदि युभेन्टसले ४० मिलियनभन्दा बढी तलब दिएर रोनाल्डोसँग नयाँ सम्झौता गरी रोनाल्डो स्पेनिस बार्सिलोकाका लिओनल मेस्सीभन्दा बढी कमाइ गर्ने खेलाडी बन्नेछन् ।

प्रकाशित मिति १६ पुष २०७६, बुधबार १७:३९
Loading...