डि लिग्ट भन्छन्– ‘रोनाल्डोसँग खेल्दा १३ फाइनलमा १२ उपाधि जितिन्छ’

एजेन्सी, चैत २५
इटालियन युभेन्टसका युवा डिफेन्डर माथिस डि लिग्टले आफ्ना सहकर्मी क्रिस्टियानो रोनाल्डोको खुलेर तारिफ गरेका छन् । इटालीको पत्रिका ‘गाजेट्टो डेल्लो स्पोर्ट’सँग कुरा गर्दै डच डिफेन्डरले रोनाल्डोसँग खेल्दा टिमले सधैं उपाधि जित्ने सम्भावना अधिकतम् हुने बताए ।

गत समरमा डच क्लब आयाक्सबाट युभेन्टस पुगेका उनले आफू इटाली सर्नुमा रोनाल्डोको परोक्ष भूमिका रहेको पनि स्वीकारेका छन् । डि लिग्टले आफू युरोपकै सर्वोत्कृष्ट रक्षापंक्ति भएको टिम र च्याम्पियन खेलाडीसँग खेल्न युभेन्टस आएको पनि बताए ।

केही समयअघि युभेन्टस लिग प्रतिस्पर्धी टिम लाजियोसँग सुपरकोपाको फाइनलमा हारेको थियो । सो फाइनलमा हार्दा रोनाल्डोले सन् २०१२ पछि पहिलोपटक फाइनल हारेका थिए । सुपरकोपा हार्नुअघि रोनाल्डोले खेलेका १२ फाइनलमा १२ वटै उपाधि जितेर रेकर्ड बनाएका थिए । तर, १३औं फाइनलमा उनको उपाधि यात्रा टुंगियो । रोनाल्डोका नाममा फुटबल इतिहासमै सबैभन्दा धेरै फाइनल खेल जित्ने खेलाडीको दुर्लभ रेकर्ड नै छ ।

‘यदि तपाईंको टिममा क्रिस्टियानो छन् भने तपार्ईंले उपाधि जित्ने सम्भावना अधिकतम् हुन्छ । वा भनौं, टिमले १३ फाइनलमा १२ उपाधि जित्न सक्छ,’ डि लिग्टले युभेन्टसले सुपरकोपा इटालियाको उपाधि हारेको प्रसंग जोड्दै भनेका छन्, ‘उनको सफलता र तथ्यले कहिल्यै झुठ बोल्दैन । मलाई यो कुरा निकै लोभ लाग्छ । सबैलाई यस्तै लाग्दो हो ।’

डि लिग्टले आफू युभेन्टस आउँदा रोनाल्डोको कुनै न कुनै रूपमा भूमिका रहेको बताए । ‘नेसन्स लिगको फाइनल खेलपछि हामीबीच छोटो कुराकानी भयो । त्यसबेला उनले मसँग युभेन्टस आउन भने, सुरुमा त म आश्चार्यमा परेको थिएँ । उनको कुरामा म हाँसे मात्रै,’ डि लिग्टले भने, ‘तर, पहिल्यैबाट युभेन्टस मेरो योजनामा थियो । क्रिस्टियानोले भनेपछि म थप आकर्षित भएँ । र, म आज यहाँ छु ।’

डि लिग्टले आफूले क्रिस्टियानोजस्तै सफल खेलाडी बन्न चाहेको पनि बताए । ‘कसको सपना हुँदैन उनीजस्तो च्याम्पियन खेलाडी बन्ने ! जसले क्लब र देशका लागि धेरैथोक जितेका छन्,’ डि लिग्टले भने, ‘उनको मेहनत, त्याग र सफलता हामीजस्ता युवा खेलाडीका लागि ठूलो प्रेरणा हुन् ।’

प्रकाशित मिति २५ चैत्र २०७६, मंगलवार ०९:२१
Loading...