२०२० मा रोनाल्डोको योजना : युभेन्टसबाट च्याम्पियन्स लिग र बालोन डि‘ओर जित्ने

एजेन्सी, पुस १५
इटालियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि वर्ष २०१९ व्यक्तिगत सफलता र अवार्डका हिसाबले शानदार रहेन । टिमका रूपमा उनले केही महत्त्वपूर्ण उपाधि जित्दै व्यक्तिगत रूपमा शानदार प्रदर्शन गरे पनि ठूला र प्रतिष्ठित व्यक्तिगत अवार्ड भने हात परेन । युइएफए वर्ष खेलाडी, फिफा वर्ष खेलाडी र बालोन डि‘ओर तीनमध्ये कुनै पनि उनको भागमा परेन ।

तर, आगामी फेब्रुअरीबाट ३५ वर्ष लाग्न आँटेका रोनाल्डो यत्तिमै विश्राम लिने मुडमा छैनन् । बरु, नयाँ वर्ष २०२० लाई उनले शानदार र उपलब्धिमूलक बनाउने योजना बनाएका छन् । इटालीका मिडियामा प्रकाशित रिपोर्टअनुसार नयाँ वर्षमा रोनाल्डो केही प्रमुख उपाधि र अवार्ड जित्न आफ्नो उच्च स्तरको लय कायमै राख्न गम्भीर छन् । उनले चोटबाट बच्न र आफ्नो फिटनेसलाई विशेष ध्यान दिइरहेका छन् ।

‘गाजेट्टो डेल्लो स्पोर्ट’मा प्रकाशित समाचारअनुसार रोनाल्डोले २०२० मा युभेन्टसबाट युरोपियन च्याम्पियन्स लिग र घरेलु लिग जितेर छैटौं बालोन डिओरसहित अन्य प्रतिष्ठित अवार्ड पोल्टामा पार्ने दाउमा छन् । यदि युभेन्टसले यो सिजन सिरी ए सहित च्याम्पियन्स लिग जिते र रोनाल्डोको प्रदर्शन महत्त्वपूर्ण रहे २०२० रोनाल्डोका लागि बालोन डि‘ओरसहित युइएफए वर्ष खेलाडी र फिफा वर्ष खेलाडीको अवार्ड जित्ने पक्काजस्तै हुनेछ । र, यो कुरा उनले बुझेका छन् ।

युभेन्टसबाट च्याम्पियन्स लिग जित्दा रोनाल्डोले छैटौंपटक यो उपाधि मात्रै जित्दैनन्, युरोपका टप–५ लिगमा तीन फरक–फरक लिगबाट च्याम्पियन्स लिग जित्ने एक्लो खेलाडीको दुर्लभ इतिहास पनि रच्नेछन् । र, युभेन्टसलाई २५ वर्षपछि च्याम्पियन्स लिग जिताउँदाको प्रमुख देन रोनाल्डोलाई नै जानेछ । र, त्यो उनलाई २०२० मा व्यक्तिगत ठूला अवार्ड जिताउने सबैभन्दा बलियो आधार बन्नेछ ।

त्यत्ति मात्रै हैन, २०२० युरो कपसमेत हुँदैछ । सन् २०१६ को युरो च्याम्पियन पोर्चुगल यसपटक पनि सो प्रतियोगितामा बाजी माने दाउमा छ । सन् २०१६ मा रोनाल्डोले रियल मड्रिडबाट च्याम्पियन्स लिग र पोर्चुलबाट युरो कप जित्दा उनले सबै व्यक्तिगत अवार्डमा ऐतिहासिक र शानदार अंकसहित बाजी मारेका थिए । सो वर्ष रोनाल्डोको करिअरको सबैभन्दा सफल वर्ष मानिन्छ ।

रोनाल्डो २०२० लाई पनि २०१६ कै जस्तो शानदार बनाउने योजनामा छन् । त्यसका लागि उनी हरहालतमा घरेलु लिगसहित एक युरोपियन उपाधि जित्ने र व्यक्तिगत रूपमा राम्रो प्रदर्शन गर्ने योजनामा छन् । युभेन्टसबाट घरेलु लिगसहित च्याम्पियन्स लिग वा पोर्चुगलबाट युरो कपमध्ये एक जित्न सके रोनाल्डोका लागि अर्को शानदार वर्ष हुनेछ ।

२०२० मा पनि पोर्चुगल साबिक विजेताका हैसियतमा युरो कपको उपाधि होडमा खरो उत्रिनेमा रोनाल्डो ढुक्क छन् । पोर्चुगलको हालको टोलीमा प्रशस्तै क्षमतावान् युवा खेलाडी तयार भएकाले रोनाल्डो दोस्रोपटक देशलाई युरो कप जिताउन कप्तानी पारी खेल्ने योजनामा छन् ।

जारी सिजन रोनाल्डोले युभेन्टसका लागि २१ खेलबाट १२ गोल गर्दै २ गोलका असिस्ट गरेका छन् । युभेन्टसले हालै मात्र सुपरकोपा इटालियाको फाइनल हारे पनि रोनाल्डो भने व्यक्तिगत रूपमा पनि उत्कृष्ट लयमा फर्किएका छन् ।

प्रकाशित मिति १५ पुष २०७६, मंगलवार २०:२५
Loading...