डे जोङ र डि लिग्ट दुवै प्रिमियर लिग जाने सम्भावना

एजेन्सी, पुस १५
नेदरल्यान्ड्सका युवा खेलाडीद्वय फ्रन्की डे जोङ र माथिस डि लिग्ट निकट भविष्यम इंग्लिस प्रिमियर लिग क्लब जाने प्रबल सम्भावना रहेको रिपोर्ट सार्वजनिक भएको छ । नेदरल्यान्ड्सका खेल मिडियाले यस्तो दाबीसहित खबर छापेका छन् ।

डे जोङ गत समर सिजनमा डच क्लब आयाक्सबाट स्पेनिस बार्सिलोना सरेका हुन् भने डि लिग्ट इटालियन युभेन्टसमा अनुबन्ध भएका हुन् । आयाक्समा छँदा दुवै खेलाडी टोलीका प्रमुख हिस्सा थिए । उनीहरू अहिले पनि टोलीमा पहिलो रोजाइमै छन् ।

अहिले दुवै खेलाडी आ–आफ्नो क्लबमा पूर्ण सन्तुष्ट नरहेको वा खुसी हुन नसकेकाले उनीहरू दुवैको सरुवा निकट भविष्यमै हुने चर्चा सुरु भएको छ । अघिल्लो दिन एक अन्तर्वार्तामा बोल्दै बार्सिलोनाका मिडफिल्डर डे जोङले त ला लिगाभन्दा प्रिमियर लिग विश्वको सबैभन्दा राम्रो र शक्तिशाली लिग रहेको आफूले अहिले आएर बुझेको भन्दै स्पेन छाड्न सक्ने जनाउ दिइसकेका छन् ।

यता, युभेन्टसका युवा डिफेन्डर डि लिग्ट हाल इटालीमा ठीकठाक देखिए पनि उनले पनि भविष्यमा प्रिमियर लिगको बाटो रोज्न सक्ने सम्भावना रहेको चर्चा सरुवा बजारमा छ ।

गत समरमै डे जोङलाई म्यानचेस्टर सिटीले बार्सिलोनाभन्दा अगाडि भित्र्याउन प्रयास गरेको थियो भने डि लिग्टलाई लिभरपुलले भित्र्याउन प्रयास गरेको थियो । तर, दुवै प्रिमियर लिग क्लब खेलाडीको महँगो दामका कारण पछि हटेपछि अन्य क्लबलाई बाटो खुलेको थियो ।

तर, अहिले पनि डे जोङमाथि सिटीका प्रशिक्षक पेप ग्वाडिओलाको नजर छँदैछ । यता, लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले डि लिग्टलाई निकै चासोसाथ हेरिरहेको बताइन्छ । बढीमा आगामी दुई वर्षभित्र युभेन्टको अवस्था हेरेर लिभरपुलले डि लिग्ट भित्र्याउन प्रयास गर्ने बताइएको छ ।

प्रकाशित मिति १५ पुष २०७६, मंगलवार १८:२४
Loading...