इन्स्टाग्रामबाट मालामाल रोनाल्डो : क्लबको तलबभन्दा बढी कमाइ !

एजेन्सी, पुस १४
पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो सामाजिक सन्जालमा सबैभन्दा बढी फलोअर्स भएका फुटबलर हुन् । उनलाई अन्य सन्जालको तुलनामा इन्स्टाग्राममा फलो गर्ने समर्थकहरूको संख्या सबैभन्दा बढी छ । हालको अवस्थामा उनलाई २ करोड आसपास मानिसले इन्स्टाग्राममा फलो गरेका छन् ।

उनै रोनाल्डोले वर्ष २०१९ मा इन्स्टाग्रामबाट निकै राम्रो पैसा आम्दानी गरेका छन् । एक रिपोर्टअनुसार रोनाल्डोको इन्स्टाग्रामबाट भएको कमाइ उनले एक वर्षमा क्लब युभेन्टसबाट कमाउने कूल तलबभन्दा निकै बढी छ । रोनाल्डो यस वर्ष इन्स्टाग्राम सर्वाधिक कमाउने फुटबलर मात्रै नभएर समग्रमा पनि पहिलो स्थानमा छन् । उनी विश्वका अन्य विधाका ठूला–ठूला सेलिब्रेटीलाई समेत पछि पारेर इन्स्टाग्रामबाट सर्वाधिक कमाउने नम्बर वान सेलिब्रेटी बने ।

वर्ष २०१९ मा रोनाल्डोले इन्स्टाग्रामबाट कूल ४७.७ मिलियन अमेरिकन डलर (४२.७ मिलियन युरो) कमाइ गरे, जुन यस वर्ष इन्स्टाग्रामबाट अन्य कसैले कमाइ गरेको भन्दा बढी हो ।

३४ वर्षीय रोनाल्डोले इन्स्टाग्रामबाट कमाएको पैसा युभेन्टसबाट उनले एक वर्षमा पाउने तलबभन्दा बढी हो । क्लबबाट उनले एक वर्षमा ३३.१ मिलियन अमेरिकन (३० मिलियन युरो) कमाइ गर्छन् । क्लबको कमाइभन्दा उनले १४.६ मिलियन अमेरिकन डलर बढी कमाइ गरे ।

रोनाल्डोलाई सामाजिक सन्जाल ट्वीटरमा फलो गर्नेको संख्या ८२ लाख छ भने इन्स्टाग्राममा १ करोड ९५ लाखले फलो गरेका छन् । रोनाल्डोले इन्स्टाग्राममा एक व्यावसायिक पोस्टबापत नेपाली रुपैयाँ साढे ११ करोडभन्दा बढी कमाइ गर्छन् ।

प्रकाशित मिति १५ पुष २०७६, मंगलवार ११:४९
Loading...