उल्भ्समाथि लिभरपुलको संघर्षपूर्ण जित : अपराजित यात्रा कायमै

काठमाडौं, पुस १४
यो सिजनका आधा खेल सकिँदासम्म पनि अपराजित रहेको लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा अपराजित यात्रालाई थप लामो बनाएको छ । आतइबार राति भएको लिगको १९औं खेलमा लिभरपुलले उल्भ्समाथि १–० को संघर्षपूर्ण जित निकाल्दै लिगमा अपराजित यात्रा लम्ब्याएको हो ।

आफ्नो घरेलु मैदान एनफिल्डमा साँघुरो जित निकाल्नेक्रममा लिभरपुलका लागि खेलको ४२औं मिनेटमा साडियो मानेले गरेको १ मात्रै गोल निर्णायक बन्यो । उनले बक्स भित्रबाट सहजै गोल गरेका थिए । सो गोललाई भिएआरले मान्यता दिएको थियो ।

दोस्रो हाफमा पाहुना टोली उल्भ्सले १ शानदार गोल गरे पनि भिएआरले अफसाइड रहेको भन्दै सो गोल रद्द गर्दा उल्भ्सलाई ठूलो झट्का लागेको थियो । त्यसपछि लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकको एक ह्यान्ड बलमा पनि भिएआरले पेनाल्टी नदिँदा उल्भ्स दोस्रोपटक खेलमा फर्किने अवसरबाट चुकेको थियो ।

अब यो जितपछि लिभरपुलले १९ खेलबाट ५५ अंक जोडेर शीर्ष स्थानमा थप बलियो बनेको छ । पराजित उल्भ्स ३० अंकसहित आठौं स्थानमा छ ।

प्रकाशित मिति १४ पुष २०७६, सोमबार ००:१९
Loading...