‘गोल मेसिन’ हल्यान्डलाई डर्टमुन्डले भित्र्यायो : युनाइटेड र युभेन्टस जिल्ल !

एजेन्सी, पुस १३
जर्मन क्लब बोरुसिया डर्टमुन्डले नर्वेजियन खेलाडी अर्लिङ ब्राउट हल्यान्डलाई अनुबन्ध गरेको अफिसियल घोषणा गरेको छ । अस्ट्रियन क्लब रेड बुल साज्जवर्गबाट खेल्दै आएका १९ वर्षका हल्यान्डलाई डर्टमुन्डले आज अनुबन्ध गरेको घोषणा गरेको हो । अनुबन्ध रकम खुलेको छैन । हल्यान्डलाई इटालियन क्लब युभेन्टस र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड अनुबन्ध गर्न लागिपरेका थिए । त्यसमा पनि युनाइटेड हल्यान्ड भित्र्याउन कम्मर कसेर लागि परेको थियो । तर, डर्टमुन्डले सरुवा बजारलाई ‘सरप्राइज’ दिँदै युवा गोल मेसिन खेलाडी अनुबन्ध गर्न सफल भयो ।

डर्टमुन्डले आफ्नो अफिसियल सामाजिक सन्जालमा हल्यान्डलाई क्लबको जर्सी थमाउँदै गरेको एक फोटो पोस्ट गर्दै १९ वर्षीय खलाडी भित्र्याएको पुष्टि गरेको छ । डर्टमुन्डले हल्यान्डसँग सन् २०२४ सम्मका लागि सम्झौता गरेको खबर छ । जारी सिजन हल्यान्डले साल्जबर्गका लागि कूल २८ गोल गरेका छन् । उनले मात्रै २२ खेलबाट २८ गोल गरेका हुन् । साल्जबर्ग च्याम्पियन्स लिगको समूह चरणबाटै आउट भए पनि उनले समूह चरणमै ८ गोल गरेका थिए ।

प्रकाशित मिति १३ पुष २०७६, आईतवार २०:४८
Loading...