प्रिमियर लिगमा आज आर्सनल र चेल्सीको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, पुस १३
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज केही रोमाञ्चक खेलहरू हुँदैछन् । जसमा आज हुने खेलमध्ये आर्सनल र चेल्सीको खेल प्रमुख आकर्षणको खेल हुनेछ । यी दुई टिम सिजनको पहिलो लेगको खेलमा आज राति भिड्न लागेका हुन् । दुवै टिमका लागि यो खेल २०१९ को अन्तिम खेल पनि हुनेछ ।

लिगकै प्रमुख भिडन्तहरूमध्ये एक यो खेल नेपाली समयअनुसार राति ७ः४५ बजेबाट सुरु हुनेछ । खेल आर्सनलको घरेलु मैदानमा हुनेछ ।

यो सिजन खराब अवस्थामा रहेको आर्सनल हाल अंक तालिकामा १९ खेलपछि २४ अंक बनाएर १२औं स्थानमा छ । आज ऊ ३२ अंकसहित लिगको चौथो स्थानमा रहेको चेल्सीलाई आफ्नो घरमा भित्र्याउँदा चर्को दबाबमा हुनेछ ।

चेल्सी आज आर्सनलविरुद्ध उसका घरेलु दर्शकमाझ उत्रिँदा लिगमा ११औं जितको खोजीमा हुनेछ । यता, आर्सनल भने छैटौं जित निकालेर अंक तालिकामा अवस्था सुधार गर्ने दाउमा छ ।

आर्सनल र चेल्सी अन्तिमपटक गत मे ३० मा युरोपा लिगको फाइनलमा भिडेका थिए । सो खेलमा चेल्सीले आर्सनललाई ४–१ ले हराएर उपाधि जितेको थियो । आज आफ्नो घरमा आर्सनल चेल्सीसँग सो हारको बदला लिने दाउमा छ ।

प्रकाशित मिति १३ पुष २०७६, आईतवार १५:२६
Loading...