पेनाल्टी गोलले टोटनह्याम हारबाट बच्यो : लेस्टर सिटीले जित्यो

काठमाडौं, पुस १३
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम वर्ष २०१९ को अन्तिम खेलमा बराबरीमा रोकिएको छ । गत राति नर्विच सिटीको घरेलु मैदानमा भएको खेलमा टोटनह्याम पेनाल्टी गोलको मदतमा हारबाट मुस्किलले बचेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको १८औं मिनेटमा घरेलु टोली सिटीले मारियो भ्रानकिकको गोलबाट अग्रता लिएको थियो । सोही गोलको मदतमा सिटीले पहिलो हाफमा १–० को अग्रता बनायो ।

दोस्रो हाफमा ३ गोल भए । खेलको ५५औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गरेर खेल १–१ बनाए । तर, ६१औं मिनेटमा टोटनह्यामले आत्मघाती गोल खायो । सेर्गे अउरीरले आफ्नै पोस्टमा गोल गरेपछि सिटीले खेलमा अग्रता बनायो ।

तर, खेलको ८३औं मिनेटमा टोटनह्यामले पेनाल्टी पायो । जसमा ह्यारी केनले कुनै गल्ती नगरी गोल गरेर खेल २–२ बनाए । त्यसपछि दुवै टोलीबाट थप गोल नभएपछि खेल बराबरीमा सकियो ।

यो बराबरीपछि दुवै टिमले अंक बाँडेका छन् । अब टोटनह्याम २० खेलबाट ३० अंक बनाएर छैटौं स्थानमा छ । सिटी १३ अंकसहित सबैभन्दा पुछारमा छ ।

गत राति नै भएको अर्को खेलमा लेस्टर सिटीले अवे मैदानमा वेस्ट ह्यामलाई १–२ ले हरायो । सो जितपछि लेस्टरले २० खेलबाट ४२ अंक जोडेको छ । लेस्टरले तेस्रो स्थानको म्यानचेस्टर सिटीलाई ४ अंकले पछि पारेको छ ।

प्रकाशित मिति १३ पुष २०७६, आईतवार ०८:१६
Loading...