रोनाल्डो ‘दशककै सर्वाधिक कमाउने’ फुटबलर : मेस्सी कतिले पछाडि ?

एजेन्सी, पुस १२
हाल इटालियन युभेन्टसबाट खेलिरहेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो पछिल्लो दशककै सर्वाधिक कमाउने फुटबलर बनेका छन् । चर्चित पत्रिका ‘फोर्ब्स’ले जारी गरेको ताजा प्रतिवेदनअनुसार २०१० को दशकमा ३४ वर्षका रोनाल्डो फुटबल विधाबाट सबैभन्दा बढी कमाइ गर्ने खेलाडी बनेका हुन् ।

२०१८ मा स्पेनिस रियल मड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डो २०१०–२०१९ सम्मको अवधिमा समग्रमा बढी कमाइ गर्ने फुटबल खेलाडी बनेका हुन् । जसमा रोनाल्डोले सो दशकमा कूल ६१७.१ मिलियन पाउन्ड कमाइ गरेका छन् ।

रोनाल्डो सर्वाधिक कमाइ गर्नेमा समग्र खेलकुद विधाको सूचीमा दोस्रो स्थानमा छन् भने फुटबलतर्फ पहिलो स्थानमा छन् । रोनाल्डोले आफ्ना खास प्रतिस्पर्धी स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीलाई बढी कमाइ गर्ने मामिलामा पछि पारेका छन् । ३२ वर्षका मेस्सी समग्रमा तेस्रो स्थानमा र फुटबलमा रोनाल्डोपछि दोस्रो स्थानमा छन् ।

मेस्सीले यस दशकमा कूल ५७८.५ मिलियन पाउन्ड कमाइ गरेका छन् । यो रोनाल्डोको भन्दा ३८.६ मिलियन पाउन्ड कमी हो । ‘फोर्ब्स’को खेलकुद विधामा सर्वाधिक कमाउने टप–१० सूचीमा फुटबल विधाबाट रोनाल्डो र मेस्सी मात्रै परेका छन् ।

हेरौं टप–१० सूची :

प्रकाशित मिति १२ पुष २०७६, शनिबार २१:२२
Loading...