उल्भ्ससँग हारेपछि ग्वार्डिओलाले भने– ‘हाम्रा लागि उपाधि होड सकियो’

एजेन्सी, पुस १२
इंग्लिस प्रिमियर लिग फुटबलमा साबिक विजेता म्यानचेस्टर सिटी गत राति अवे मैदानमा उल्भ्ससँग ३–२ ले स्तब्ध बन्यो । खेलको १२औं मिनेटमा रातो कार्डका कारण गोलकिपरलाई गुमाएको सिटीले खेलको ५०औं मिनेटमा ०–२ को अग्रता बनाए पनि त्यसपछि ३ गोल खाएर नतिजा गुमायो ।

सो हारपछि सिटी एक खेल कम खेलेको लिग लिडर लिभरपुलसँग १४ अंकले पछि परेको छ । यदि लिभरपुलले बाँकी एक खेल पनि जिते सिटी लिभरपुलभन्दा समान खेलपछि १७ अंकले पछि पर्नेछ । र, यो अवस्था भनेको सिटीका लागि उपाधि होडमा फर्किन असम्भवजस्तै हो ।

गत रातिको हारपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफूहरूका लागि अब उपाधि होड सकिएको बताएका छन् । खेलपछि मिडियासँग कुरा गर्दै उनले लिग अब आफूहरूका लागि औपचारिकता मात्रै हुने बताए ।

‘हामीलाई थाहा छ, अब हामी उपाधि होडमा छैनौं । हाम्रा लागि यो सकियो,’ ग्वार्डिओलाले भने, ‘हामी औपचारिकताका लागि बाँकी खेल खेल्नेछौं ।’

ग्वार्डिओलाले हालसम्म एक खेल पनि नहारेको लिभरपुललाई पछ्याउन अब नसकिने पनि बताए । ‘उनीहरूले हामीभन्दा एक खेल कम खेलेका छन् । तैपनि, उनीहरू हामीभन्दा १४ अंकले अघि छन्,’ ग्वार्डिओलाले भने, ‘प्रिमियर लिगमा यो दूरी कठिन मात्रै हैन, करिब–करिब असम्भव नै हो ।’

ग्वार्डिओलले अब आफूहरूले लिभरपुलको बारेमा नसोचेर दोस्रो स्थानको लेस्टर सिटीको विषयमा मात्रै सोच्ने बताए । ‘यो अवस्थामा हामीले लिभरपुलको बारेमा सोच्नु हास्यास्पद हुनेछ । अब हामी दोस्रो स्थानको लेस्टरबारे सोच्नेछौं । र, हामी दोस्रो स्थानमा रहेर सिजन पूरा गर्न चाहन्छौं ।’

हाल लिभरपुल १८ खेलपछि ५२ अंक बनाएर शीर्ष स्थानमा छ भने लेस्टर १९ खेलपछि ३९ अंक बनाएर दोस्रो स्थानमा छ । म्यानचेस्टर सिटी १९ खेलपछि ३८ अंक बनाएर तेस्रो स्थानमा छ ।

प्रकाशित मिति १२ पुष २०७६, शनिबार १९:४८
Loading...