३८ वर्षको उमेरमा ज्लाटन एसी मिलान फर्किए

एजेन्सी, पुस १२
भेट्रान फुटबलर ज्लाटन इब्राहिमोभिच पूर्वक्लब इटालियन एसी मिलानमा अनुबन्ध भएका छन् । स्वीडेनका फरवार्ड उनी ३८ वर्षको उमेरमा पुनः युरोपियन टप–५ लिगमा फर्किएका हुन् । इटालियन मिडियाका अनुसार ज्लाटन तत्कालका लागि जारी सिजनको अन्त्यसम्म मात्रै मिलानमा हुनेछन् । ६ महिनापछि उनले क्लब छाड्न सक्छन्, रहन पनि सक्छन् ।

ज्लाटनले आफ्नो करिअर दौरान युरोपियन फुटबलमा आयाक्स, युभेन्टस, इन्टर मिलान, बार्सिलोना, एसी मिलान, पिएसजी, म्यानचेस्टर युनाइटेडबाट खेलिसकेका छन् । पछिल्लोपटक उनी अमेरिकन लिगमा एलए ग्यालेक्सीमा थिए । इब्राहिमोभिच फ्री ट्रान्सफरमा मिलान पुगेका हुन् । उनको स्वास्थ्य जाँचपछि जनवरी २ बाट उनी क्लबमा हुनेछन् । उनले गत नोभेम्बरमा ग्यालक्सी क्लब छाडेका थिए ।

उनले यसअघि सन् २०१० देखि २०१२ सम्म मिलानबाट खेलेका थिए । सोक्रममा उनले ८५ खेल खेल्दै ५६ गोल गरेका थिए । अब इब्राहिमोभिचले आगामी जनवरी १५ तारिखमा एसपिएलसँगको खेलबाट टोलीमा डेब्यु गर्नेछन् । उनको अनुबन्धपछि बाँकी सिजन मिलानले आफ्नो अवस्थामा सुधार गर्ने अपेक्षा गरिएको छ । मिलानले सन् २०११ यता कुन पनि उपाधि जित्न सकेको छैन । यो सिजन मिलान घरेलु लिगमा १७ खेलपछि २१ अंक जोडेर ११औं स्थानमा छ ।

प्रकाशित मिति १२ पुष २०७६, शनिबार १८:४२
Loading...