म लामो समयसम्म युभेन्टसमा रहन चाहन्छु : डि लिग्ट

एजेन्सी, पुस १२
इटालियन क्लब युभेन्टसका युवा डिफेन्डर माथिस डि लिग्टले आफू नयाँ क्लबमा एकदमै खुसी रहेको बताएका छन् । क्लबको अफिसियल टिभीसँग कुरा गर्दै डच डिफेन्डरले आफू इटाली सर्ने निर्णयमा खुसी रहेको बताउँदै आफू लामो समय युभेन्टसमै रहन चाहेको बताएका छन् ।

‘म यहाँ टुरिनमा एकदमै खुसी छु । र, अझै लामो समय यहाँ रहन चाहन्छु,’ डि लिग्टले भनेका छन् ।

डि लिग्टले युभेन्टस सरुवा हुने निर्णयमा आफूलाई गर्व लागेको पनि बताए । ‘यहाँ आउन पाउँदा म साँच्चै गर्व महसुस गरिरहेको छु । युभेन्टस एक ठूलो क्लब हो । र, यो एक खेलाडीका लागि सम्मान हो,’ डि लिग्टले भने, ‘म सधैं युभेन्टसको खेलाडी हुन चाहन्थें । र, आज म यही क्लबको जर्सीमा छु ।’

डि लिग्टले युभेन्टसले यो सिजन सुपरकोपा हारे पनि अन्य सबै उपाधि जित्न सक्ने बताए । ‘हामीले सुपरकोपा हार्नुपर्ने थिएन । तर, सिजनका बाँकी उपाधि जित्न हामी तयार छौं,’ डि लिग्टले भने, ‘हामी राम्रो स्थितिमा छौं । र, धेरैभन्दा धेरै उपाधि जित्न चाहन्छौं ।’

प्रकाशित मिति १२ पुष २०७६, शनिबार ११:३५
Loading...