प्रिमियर लिग : उल्भ्ससँग बदला लिने दाउमा म्यानचेस्टर सिटी

काठमाडौं, पुस ११
इंग्लिस प्रिमियर लिग फुटबलमा आज एक रोमाञ्चक खेल हुँदैछ । जहाँ साबिक विजेता म्यानचेस्टर सिटी र उल्भ्स भिड्दैछन् । यो खेल उल्भ्सको घरेलु मैदानमा नेपाली समयअनुसार राति १ः३० बजेबाट सुरु हुनेछ ।

यो सिजन खराब अवस्थामा रहेको सिटी हाल लिग लिडर लिभरपुलभन्दा १४ अंकले पछि छ । आज राति अवे मैदानमा हुने यो खेल जितेर सिटी लिभरपुलसँगको अंक दूरी ११ मा झार्ने दाउमा छ ।

त्यत्ति मात्रै हैन, सिटी आज उल्भ्सको घरमा उत्रिँदा यसअघिको खेलमा भोगेको नमिठो हारको बदला लिने दाउमा पनि हुनेछ । अघिल्लो खेलमा उल्भ्सले सिटीलाई उसकै घरेलु मैदानमा ०–२ को लज्जास्पद हार चखाएको थियो ।

सोही टिम उल्भ्सले आज सिटीलाई आफ्नो घरमा स्वागत गर्दा सिटीविरुद्ध अघिल्लै खेलको कथा दोहोराउने दाउमा छ । आफ्नो घरमा खेल्ने हुँदा उल्भ्सले आज पन सिटीलाई टा टक्कर दिने पक्का छ ।

आजको खेलबाट सिटी उल्भ्ससँग अघिल्लो खेलको नमिठो हारको बदला लिने दाउमा मात्रै छैन, स्पष्ट जितसहित लिगको दोस्रो स्थानमा उक्लिने दाउमा पनि छ ।

हाल सिटी दोस्रो स्थानको लेस्टर सिटीभन्दा १ अंकले पछि रहेर तेस्रो स्थानमा छ । ३९ अंक भएको लेस्टर सिटी दोस्रो स्थानमा छ । १८ खेलपछि ५२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ ।

यता, आज सिटीलाई आफ्नो घरमा स्वागत गर्न लागेको उल्भ्स भने २७ अंकसहित आठौं स्थानमा छ । यदि आज उल्भ्सले सिटीलाई हराए ऊ टोटनह्यामलाई पछि पार्दै लिगको पाँचौं स्थानमा उक्लिनेछ ।

प्रकाशित मिति ११ पुष २०७६, शुक्रबार १६:२२
Loading...