ला लिगाको सर्वाधिक गोलकर्ता हुनु मेरा लागि सबैभन्दा राम्रो रेकर्ड : मेस्सी

एजेन्सी, पुस ११
स्पेनिस बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीले घरेलु लिग ला लिगाको सर्वाधिक गोलकर्ता हुनु आफ्ना लागि सधैं विशेष र राम्रो रेकर्ड हुने बताएका छन् । १६ वर्षदेखि लगातार बार्सिलोनाको जर्सीमा ला लिगा खेलिरहेका मेस्सीले ला लिगाको अफिसियल वेबसाइटसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

हाल ३२ वर्ष पुगेका मेस्सीले ला लिगामा हालसम्म ४३२ गोल गरेका छन् । उनले ४६५ खेलबाट ४३२ गोल गरेका हुन् । मेस्सी ला लिगाको इतिहासकै सवाधिक गोलकर्ता र असिस्टकर्ता खेलाडी हुन् । मेस्सीले ला लिगामा १६ वर्षदेखि खेलिरहँदा कूल ६ सिजन लिगको सर्वाधिक गोलकर्ता बनेर पिचिची अवार्ड जितेका छन् ।

मेस्सीले ला लिगामा आफूले गरेका गोल र आफ्नो नाममा रहेका रेकर्ड आफ्ना लागि सधैं विशेष रहने बताएका हुन् । ‘स्पेनिस ला लिगाजस्तो लिगमा सर्वाधिक गोलकर्ता बन्नु मेरा लागि सधैं विशेष हो,’ मेस्सीले भनेका छन्, ‘मेरो विचारमा मसँग भएका थुप्रै रेकर्डमध्ये यो सबैभन्दा राम्रो रेकर्ड हो ।’

प्रकाशित मिति ११ पुष २०७६, शुक्रबार ११:१४
Loading...