काठमाडौं, पुस ११
इटालियन क्लब युभेन्टसमा दोस्रो सिजन बिताइरहेका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोका लागि ‘गोल स्कोरिङ’का हिसाबले वर्ष २०१९ पछिल्लो दशककै सबैभन्दा खराब बनेको छ । गोल मेसिन खेलाडी रोनाल्डोले यस वर्ष कूल ३९ गोल मात्रै गरे ।
यस वर्षको अन्तिम खेल सुपरकोपा इटालियाको फाइनलमा लाजियोविरुद्ध गोल गर्न असफल भएपछि रोनाल्डो यस वर्ष ४० गोल पूरा गर्नबाट मात्रै १ गोलले चुके । यदि सो खेलमा मात्रै १ गोल गर्न सकेको भए उनले पछिल्लो दशक लगातार कम्तीमा ४० गोल पूरा गर्थे ।
पछिल्ला १० वर्षको तथ्यांकलाई हेर्ने हो भने रोनाल्डोले यस वर्ष गरेको गोल संख्या सबैभन्दा कम हो । सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियल पुगेका उनले २०१० मा ४९ गोल गरेका थिए ।
पछिल्ला १० वर्षको बीचमा रोनाल्डोले सर्वाधिक बढी गोल २०१३ मा ६९ गोल गरे । हाल ३४ वर्ष पुगेर ३५ लाग्न आँटेका रोनाल्डोको बढ्दो उमेरबीच यो तथ्यांक निकै शानदार भए पनि उनको अघिल्ला वर्षको आफ्नै तथ्यांकभन्दा भने कमी हो । २०१८ मा रोनाल्डोले कूल ४९ गोल गरेका थिए ।
रोनाल्डोको दशक यात्रालाई संख्यामा हेरौं :
- २०१० – ४९ गोल
- २०११ – ६० गोल
- २०१२ – ६३ गोल
- २०१३ – ६९ गोल
- २०१४ – ६१ गोल
- २०१५ –५७ गोल
- २०१६ – ५५ गोल
- २०१७ – ५३ गोल
- २०१८ –४९ गोल
- २०१९ – ३९ गोल