प्रिमियर लिग : लेस्टर सिटीलाई लिभरपुलले घरमै चखायो लज्जास्पद हार

काठमाडौं, पुस ११
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा लिग लिडर लिभरपुलले शानदार जित निकालेको छ । गत राति भएको आफ्नो १८औं खेलमा लिभरपुलले लिगको दोस्रो स्थानको लेस्टर सिटीमाथि ०–४ को शानदार जित दर्ता गरेको हो । लेस्टरले आफ्नै घरेलु मैदानमा लज्जास्पद हार व्यहोर्दा लिभरपुलका लागि ३ जना खेलाडीले गोल गरे । लेस्टरको घरमा लिभरपुलले पहिलो हाफमा १ गोल गरेर बाँकी ३ गोल दोस्रो हाफमा ८ मिनेटको बीचमा हान्यो ।

लेस्टरविरुद्ध लिभरपुलले खेलको ३१औं मिनेटमा रोवर्ट फर्मिन्होको गोलबाट अग्रता लिएको थियो । त्यसपछि लिभरपुलले ७४ देखि ७८ मिनेटको बीचमा ३ गोल हान्यो । घरेलु टोलीविरुद्ध खेललाई एकपक्षीय बनाएको लिभरपुलले ७१औं मिनेटमा पेनाल्टी पायो, जसमा जेम्स मिल्नरले गोल गर्दै खेल ०–२ बनाए । त्यसपछि खेलको ७४औं मिनेटमा फर्मिन्होले व्यक्तिगत दोस्रो गोल गरे । लगत्तै खेलको ७८औं मिनेटमा ट्रेन्ट अलेकसान्डर अर्नोल्डेले गोल गरेपछि खेल लिभरपुलले ०–४ ले जित्यो ।

यो जितपछि लिभरपुलले घरेलु लिगमा १८ खेलसम्म अपराजित यात्रा कायमै राखेको छ । उसले १८ खेल खेल्दा १७ खेल जितेर मात्रै १ खेल बराबरी गरेको छ । अब लिभरपुलको खातामा ५२ अंक पुगेको छ भने पराजित लेस्टर ३९ अंकसहित दोस्रो स्थानमा छ । तर, लिभरपुलले अझै पनि एक खेल खेल्न बाँकी नै छ ।

प्रकाशित मिति ११ पुष २०७६, शुक्रबार ०७:५५
Loading...