घरेलु मैदानमा चेल्सीको लज्जास्पद हार : आर्सनल बराबरीमा रोकियो

काठमाडौं, पुस १०
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आफ्नै घरमा लज्जास्पद हार व्यहोरेको छ । बिहीबार भएको लिगको १९औं खेलमा चेल्सी आफ्नै घरमा साउथह्यामपटनसँग ०–२ ले स्तब्ध बनेको हो । घरेलु दर्शकमाझ चेल्सीले पहिलो र दोस्रो हाफमा १–१ गोल खायो ।

खेलको ३१औं मिनेटमा साउथह्यामपटनले मिकेल आबाफेमीको गोलबाट चेल्सीविरुद्ध अग्रता लिएको थियो । मिकेलले निकै सुन्दर फिनिसिङमा गोल गरेका थिए । आफ्नो घरमा गोल खाएर पछि परेको चेल्सी खेलमा फर्किन प्रयासरत थियो ।

तर, खेलको ७३औं मिनेटमा दोस्रो गोल खाएपछि खेल चेल्सीको हातबाट फुत्किएको थियो । द्रुत मुभमा नाथन रेडमोडले बक्समा पाएको कठिन पासमा चेल्सीका किपर किपालाई बिट गर्दै चिप प्रहारमा गोल गरेपछि चेल्सी ०–२ ले पछि परेको थियो ।

त्यसपछि बाँकी समयमा चेल्सीले गोल गर्न नसक्दा खेल साउथनह्यामपटनले ०–२ ले जित्यो । अब यो जितपछि साउथह्यामपटन १९ खेलबाट २१ अंक बनाएर १४औं स्थानमा चढेको छ । पराजित चेल्सी ३२ अंकसहित चौथो स्थानमा छ । चेल्सीले लिगका पछिला ५ खेलमध्ये मात्रै दुई खेल जितेर तीन खेल हारेको छ ।

यता, बिहीबारै भएको अर्को खेलमा आर्सनल अवे मैदानमा बोर्नेमाउथसँग १–१ को बराबरीमा रोकियो । आर्सनल अब १९ खेलपछि २४ अंकसहित ११औं स्थानमा झरेको छ ।

प्रकाशित मिति १० पुष २०७६, बिहीबार २२:४६
Loading...