‘रोनाल्डोजस्तो कोही पनि छैन’

एजेन्सी, पुस १०
इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्टार मिडफिल्डर बर्नान्डो सिल्भाले राष्ट्रिय टिमका आफ्ना सहकर्मी क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । उनले पोर्चुगलका आफ्ना कप्तानलाई युवा खेलाडीका लागि ‘उदाहरण’ र ‘आदर्श’ रहेको भन्दै तारिफ गरेका हुन् ।

पोर्चुगलको टोलीमा सिल्भा रोनाल्डोसँग आक्रमण लाइनमा मिडफिल्डबाट सघाउने प्रमुख अस्त्र हुन् । सिटीमा समेत पेप ग्वार्डिओलाको पहिलो रोजाइमा पर्ने सिल्भा यो समयका उत्कृष्ट मिडफिल्डरमध्येमा पर्छन् ।

सिल्भाले आफू फुटबल करिअरमा सधैं रोनाल्डोबाट प्रेरित हुँदै आएको पनि बताएका छन् । एक अन्तर्वार्तामा बोल्दै सिल्भाले भनेका छन्, ‘उनी सर्वोत्कृष्ट छन्, यसो भन्दा मलाई गर्व लाग्छ ।’

सिल्भाले रोनाल्डो युवा पुस्ताका खेलाडीका लागि ठूलो उदाहरण रहेको बताए । ‘क्रिस्टियानो युवा पुस्ताका लागि ठूलो उदाहरण हुन् । उनको स्तरमा पुग्न ज्यादै कठिन छ । ३४ वर्षको उमेरमा पनि उनले जुन स्तर कायम राखेका छन्, त्यो अरूका लागि असम्भवजस्तै हुन्छ,’ सिभाल्भाले भने, ‘तर, उनले गरिरहेका छन् । उनीजस्तो मैले कोही पनि देखेको छैन ।’

सिल्भाले रोनाल्डो टोलीमा हुन्जेल उपाधि जित्ने सम्भावना सधैं हुने बताए । ‘जबसम्म उनी टोलीमा हुन्छन्, पोर्चुगल होस् वा युभेन्टस, टिमले उपाधि जित्ने सम्भावना सधैं हुन्छ,’ सिल्भाले भने ।

प्रकाशित मिति १० पुष २०७६, बिहीबार २१:४५
Loading...