‘हामी मेस्सीजस्तो खेलाडीलाई फेरि कहिल्यै देख्न सक्दैनौं’

एजेन्सी, पुस १०
स्पेनिस बार्सिलोनाका फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यानले आफ्ना सुपरस्टार सहकर्मी लिओनल मेस्सीको तारिफ गरेका छन् । ‘युइएफए’को अफिसियल वेबसाइटसँग कुरा गर्दै ग्रीजम्यानले मेस्सीजस्ता खेलाडीलाई फेरि कहिल्यै देख्न नसकिने भन्दै खुलेर तारिफ गरेका छन् ।

ग्रीजम्यान गत समरमा लिग प्रतिस्पर्धी क्लब एथ्लेटिको मड्रिडबाट बार्सिलोना पुगेका हुन् । सुरुआती समयमा मेस्सीसँग मैदानको साझेदारी र व्यक्तिगत रूपमा मित्रवत् सम्बन्ध राम्रो बन्न नकसे पनि अहिले बार्सिलोनाको ड्रेसिङ रुममा मेस्सी र ग्रीजम्यानबीच धेरै कुरा सुध्रिएका छन् ।

‘हामी यस्तो खेलाडीको विषयमा कुरा गरिरहेका छौं, जसलाई हामी फेरि कहिल्यै सक्दैनौं,’ ग्रीजम्यानले भनेका छन्, ‘अहिले उनी हामीसँग छन् । र, हामीले उनीबाट धेरै कुरा लिनुपर्छ । हामी उनको सहकर्मी, कोच वा समर्थक जो भए पनि ।’

अर्को प्रसंगमा बोल्दै ग्रीजम्यानले आफू उपाधि जित्न बार्सिलोना नआएको पनि बताए । ‘मैले च्याम्पियन्स लिग जित्न एथ्लेटिको मड्रिड छाडेको होइन । वा, ला लिगा जित्न बार्सिलोना आएको होइन,’ ग्रीजम्यानले भने, ‘म यहाँ खेलको नयाँ शैली सिक्न र व्यक्तिगत रूप स्तर उकास्न आएको हुँ ।’

प्रकाशित मिति १० पुष २०७६, बिहीबार १६:४७
Loading...