भाल्भर्डेको ताजा अन्तर्वार्ता : च्याम्पियन्स लिग र ला लिगाबारे यस्तो धारणा

एजेन्सी, पुस ९
स्पेनिस बार्सिलोनाका प्रमुख प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले हाल क्लबको अफिसियल मिडियासँग कुरा गर्दै यो सिजन टिममाथि ठूलो दबाब रहेको बताएका छन् । क्रिसमसको अवसरमा उनीसँग गरिएको कुराकानीमा भाल्भर्डेले आफूहरू चर्को दबाबसाथ सिजन बिताइरहेको बताएका हुन् ।

टिमले पछिल्ला सिजन ठूला उपाधि जित्न नसक्दा अहिले खेलाडी, प्रशिक्षक र सिंगो क्लबमाथि नै ठूलो दबाब रहेको भाल्भर्डेको भनाइ छ । ‘नढाँटी भन्दा हामी यो सिजन ठूलो दबाबका साथ बिताइरहेका छौं, यो सबैलाई थाहा छ । किनभने, हामीले ठूला उपाधि जित्न नसकेको चार सिजन भयो । बाार्सिलोनाजस्तो विश्वकै उत्कृष्ट क्लबका लागि यो नसुहाउने कुरा हो,’ भाल्भर्डेले भने ।

बार्सिलोनालाई तेस्रो सिजन नेतृत्व दिइरहेका भाल्भर्डेले यो सिजन टिमले सबै उपाधि जित्न प्रयास गर्ने बताए । ‘हामी हार्न कहिल्यै चाहँदैनौं । यो सिजन पनि हामी सबैखाले प्रतियोगिता जित्न चाहन्छौं । यो सिजनको महत्त्व हामीलाई थाहा छ,’ भाल्भर्डेले भने, ‘बार्सिलोना लामो समय घरेलु लिग वा कप मात्रै जितेर खुसी हुन सक्दैन ।’

भाल्भर्डेले आफूहरूको प्रमुख प्राथमिकतामा च्याम्पियन्स लिग मात्रै नहुने बताए । ‘ला लिगा हारेर अन्य प्रतियोगिता जित्नु हाम्रो लक्ष्य होइन । हामी सबै उपाधि जित्न चाहन्छौं । घरेलु लिगको महत्त्व सधैं ठूलो हुन्छ । च्याम्पियन्स लिग सधैं विशेष हुन्छ,’ भाल्भर्डेले थपे, ‘च्याम्पियन्स लिग जित्न जति कठिन छ, ला लिगा जित्न उत्तिकै कठिन छ । हामी घरेलु लिगलाई कम महत्त्व दिन सक्दैनौं ।’

भाल्भर्डेले यो सिजन ला लिगासहित च्याम्पियन्स लिग प्रमुख उद्देश्य रहने बताए । ‘हामी यी दुईमा कुनै एक रोज्दैनौं, दुवै जित्न चाहन्छौं । सबै उपाधि जित्नु खेलाडी र क्लबको लक्ष्य हो,’ भाल्भर्डेले जोड दिँदै भने, ‘युरोपियन प्रतियोगिता जित्दा उत्कृष्ट क्लब र उत्कृष्ट खेलाडीको मानक बनिन्छ ।’

भाल्भर्डेले जारी सिजनलाई सफल बनाउन आफूसँग भएको टिम पर्याप्त रहेको पनि बताए । ‘अहिले मसँग जुन टिम र जस्ता खेलाडी छन्, त्यसबाट म निकै खुसी छु । किनभने, मेरो टोलीमा एकसे एक खेलाडी छन् । मलाई लाग्छ, यो टिमले यसपालि फरक कुरा दिनेछ,’ भाल्भर्डेले भने, ‘मेस्सी सधैं टिमका लागि प्याकेज खेलाडी हुन् भने ग्रीज्यमानजस्ता खेलाडी हामीसँग छन् । हामी यतिबेला युवा खेलाडीलाई पनि तयार पारिरहेका छौं ।’

भाल्भर्डेले डच मिडफिल्डर फ्रेन्की डे जोङले अझै धेरै कुरा दिन बाँकी रहेको पनि बताए । ‘उनी एकदमै राम्रा खेलाडी हुन् । तर, उनले टिमलाई अझैं धेरै कुरा दिनुपर्छ,’ भाल्भर्डेले भने, ‘भिडाल टिमलाई कठिन बेलामा काम लागने खेलाडी हुन् ।’

च्याम्पियन्स लिगकै प्रसंगमा बोल्दै भाल्भर्डेले गत सिजनको हार आफूले सम्झिन नचाहेको बताए । ‘त्यो एक खराब रात थियो, जुन म सम्झिन चाहँदिनँ । मलाई लाग्छ, यदि हामीले लिभरपुललाई हराएर फाइनल पुगेका थियौं भने हामी कोपा डेल रे पनि जित्न सक्थ्यौं,’ भाल्भर्डेले भने ।

प्रकाशित मिति ९ पुष २०७६, बुधबार २१:४३
Loading...