‘रियल मड्रिड रोनाल्डो र उनको गोललाई ज्यादै मिस गर्छ’

एजेन्सी, पुस ९
पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २०१८ मै रियल मड्रिड छाडेर इटालियन युभेन्टस गए । उनले ९ वर्ष बिताएको क्लब छाडेको डेढ वर्ष भइसकेको छ । तर, रियल मड्रिडको ड्रेसिङ रुम भने अझै पनि रोनाल्डोलाई ज्यादै मिस गर्ने गर्छ ।

यो कुरा रियलका गोलकिपर थिबाउट कोर्टुवा आफैंले बताएका छन् । अघिल्लो सिजन इंग्लिस क्लब चेल्सीबाट रियल पुगेका बेल्जियमका गोलकिपरले विगतका आफ्ना प्रतिस्पर्धी खेलाडीबारे बताएका हुन् । सोक्रममा कोर्टुवाले आफूहरूको ड्रेसिङ रुमले रोनाल्डोलाई आजका दिनमा पनि निकै याद गर्ने बताए ।

‘म क्रिस्टियानोको प्रतिस्पधी मात्रै भएँ, सहकर्मी हुन पाइनँ । जतिबेला म यहाँ आए, उनी थिएनन्,’ कोर्टुवाले भनेका छन्, ‘तर, अझै पनि यहाँको डे«ेसिङ रुमले उनलाई ज्यादै मिस गर्छ ।’

कार्टुवाले रोनाल्डोजस्ता खेलाडीलाई जुनसुकै क्लबले पनि सम्झिने बताए । ‘तपाईं यस्तो खेलाडीको बारेमा कुरा गर्दै हुनुहुन्छ, जसले एक सिजनमा ५० गोल गर्थ्यो । क्रिस्टियानोलाई रियलले मात्रै हन, जुनै पनि क्लबले सम्झिन्छ । उनी गोलकर्ता खेलाडी मात्रै हैनन्, च्याम्पियन खेलाडी हुन् ।’

कोर्टुवाले हाल टिममा गोलकर्ता खेलाडीको अभाव रहेको भन्ने कुरा आफूलाई साँचो नलाग्ने बताए । ‘मलाई नयाँ फरवार्ड ल्याउनुपर्छ जस्तो लाग्दैन । हामीसँग एकसे एक फरवार्ड छन्,’ कोर्टुवाले भने, ‘केही खेलमा गोल नहुँदैमा कहिल्यै गोल हुँदैन भन्ने होइन ।’

कोर्टुवाले आफूले पछिल्लो समय राम्रो गरिरहेको भन्दै टिमलाई जिताउन अझै उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘यहाँ मेरा सुरुआती दिन निकै कठिन रहे । म आफैं पनि निराश थिएँ,’ कोर्टुवाले भने, ‘तर, अब म ठीक छु । म राम्रो गरिरहेको छु र टिमलाई सघाइरहेको छु ।’

प्रकाशित मिति ९ पुष २०७६, बुधबार २०:५७
Loading...