डे जोङको विश्वास– ‘डि लिग्ट भविष्यमा बार्सिलोना आउनेछन्’

एजेन्सी, पुस ९
स्पेनिस क्लब बार्सिलोनाले गत समर सिजनमा डच क्लब आयाक्सबाट युवा डिफेन्डर माथिस डि लिग्ट भित्र्याउन सबैखाले प्रयास गरे पनि सकेन । अन्ततः २० वर्षीय डि लिग्ट ७५ मिलियन युरो सरुवा फीमा इटालियन युभेन्टस पुगे । इटालीमा उनी अहिले ठीकठाक खेलिरहेका छन् ।

तर, आयाक्समा छँदाका सहकर्मी तथा हाल बार्सिलोनाबाट खेलिरहेका युवा मिडफिल्डर फ्रेन्की डे जोङले भने डि लिग्ट अझै पनि बार्सिलोना आउन सक्ने सम्भावना रहेको बताएका छन् । आयाक्समा डे जोङ र डि लिग्ट सँगै खेल्थे भने नेदरल्यान्ड्सको टोलीमा भने उनीहरू अहिले पनि सहकर्मी छँदैछन् ।

एक अन्तर्वार्तामा बोल्दै उनले डि लिग्टको युभेन्टस जाने निर्णय सही भएको भए पनि उनी ढिलो–चाँडो बार्सिलोना आउने विश्वास व्यक्त गरे । ‘मेरो विचारमा युभेन्टस जाने उनको निर्णय सही हो । जो कोही पनि आफूलाई फिट हुने ठाउँमा जानुपर्छ । र, युभेन्टस उनका लागि सबैभन्दा उत्तम टिम हो,’ डे जोङले आफ्ना सहकर्मीबारे भने, ‘उनी अहिले त्यहाँ निकै राम्रो गरिरहेका छन् । उनले अझै राम्रो गर्ने क्षमता राख्छन् ।’

डे जोङले डि लिग्ट अझै पनि बार्सिलोना आउन सक्ने बताए । ‘उनी अहिले युभेन्टसमा भए पनि भविष्यमा बार्सिलोना आउने सम्भावना छ । मलाई विश्वास छ, उनी एकदिन यहाँ आउनेछन्,’ डे जोङले भने ।

डे जोङले बार्सिलोनामा आफ्नो अवस्थाबारे पनि बताएका छन् । उनले हाल आफूले फुटबलको सम्पूर्ण आनन्द लिइरहेको बताएका छन् । ‘मेरो पहिलो सिजन निकै राम्रोसँग बितिरहेको छ । व्यक्तिगत रूपमा एकदमै रमाइलो गरिरहेको छु । यहाँ विश्वकै उत्कृष्ट खेलाडीहरू छन् । र, म हरेक दिन उनीहरूसँग प्रशिक्षण गरिरहेको हुन्छु, खेलिरहेको हुन्छु र सिकिरहेको हुन्छु,’ डे जोङले भने ।

डे जोङले आफूहरू जनवरीबाट कठिन समयमा प्रवेश गर्ने बताए । ‘अहिलेसम्म सिजन सामान्य अवस्थामा बित्यो । तर, हामी विन्टर ब्रेकबाट फर्किएपछि नयाँ चरण सुरु हुनेछ । किनभने, लिग अन्त्यतिर अघि बढ्छ भने च्याम्पियन्स लिगमा नकआउट चरण सुरु हुनेछ,’ उनले थपे, ‘जनवरीबाट हाम्रो असली सिजन सुरु हुनेछ ।’

डे जोङले आफू बार्सिलोनाबाट च्याम्पियनस लिग जित्न आतुर रहेको पनि बताए । ‘कुन खेलाडी यो उपाधि जित्न चाहँदैन र ? अवश्य पनि, म बार्सिलोनाबाट सबैखाले उपाधि जित्न चाहन्छु । त्यसमा पनि च्याम्पियन्स लिग जित्न र टिमलाई जिताउन म उत्साहित छु,’ डे जोङले भने ।

बार्सिलोनाले पछिल्ला चार सिजन यो उपाधि जित्न सकेको छैन । जित्न मात्रै हैन, ऊ यी चार सिजन फाइनल नै नपुगी आउट हुँदै आएको छ । गत सिजन बार्सिलोना इंग्लिस क्लब लिभरपुलसँग दोस्रो लेगमा ४–० को लज्जास्पद हार व्यहोर्दै प्रतियोगिताबाट आउट भएको थियो ।

प्रकाशित मिति ९ पुष २०७६, बुधबार १५:०२
Loading...