काठमाडौं, पुस ९
स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी र इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोको दबदबा तोड्दै जर्मन क्लब बार्यन म्युनिखका फरवार्ड रोवर्ट लेवान्डोस्की वर्ष २०१९ को सर्वाधिक गोलकर्ता खेलाडी बनेका छन् । यस वर्ष उनले पोल्यान्डको राष्ट्रिय टोली र बार्यनका लागि गरी कूल ५४ गोल गरे ।
यससँगै लेवान्डोस्की पछिल्लो दशकमा रोनाल्डो र मेस्सीलाई पछि पारेर सर्वाधिक गोलकर्ता बन्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि सन् २००९ मा इडेन जेको र सन् २०१७ मा टोटनह्यामका ह्यारी केनल सर्वाधिक गोलकर्ता बनेका थिए ।
यसपटक बार्सिलोनाका मेस्सीलाई ४ गोलले पछि पारेका लेवान्डोस्कीले कूल ५८ खेलबाट ५४ गोल गरेका हुन् । उनीपछि दोस्रो नम्बरमा बार्सिलोनाका मेस्सी छन् । मेस्सीले ५८ खेलबाट ५० गोल गरे ।
तेस्रो नम्बरमा फ्रेन्च क्लब पिएसजीका युवा फरवार्ड केलियन एमबाप्पे छन् । फ्रान्सको टोलीका फरवार्ड उनले ४९ खेलबाट ४४ गोल गरे । चौथो नम्बरमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ छन् । उनले ६१ खेलबाट ४१ गोल गरेका छन् । तर, उनले यस वर्षका अन्तिम दुई खेल खेल्न बाँकी नै छ ।
यता, विगतको तुलनामा यसपटक केही कमजोर देखिएका युभेन्टसका क्रिस्टियानो रोनाल्डोले कूल ३९ गोल गरे । उनले ५० खेलबाट ३९ गोल गरेका हुन् ।
त्यस्तै, स्कटल्यान्डको क्लब रेन्जर्सका फरवार्ड अल्फ्रेडो मोरेलोसले ५३ खेल खेदै ३८ गोल गर्दा युरोपबाहिर चिनिया क्लब ग्वान्झाउका इजरायली फरवार्ड एरान जहाभीले ४० गोलसहित २०१९ पूरा गरे । त्यस्तै, अमेरिकी लिग खेलिरहेका मेक्सिकोका खेलाडी कार्लोस भेलाले यस वर्ष ३८ गोल आफ्नो नाममा लेखाए ।
हेरौं टप–१२ गोलकर्ता :
- रोवर्ट लेवान्डोस्की – ५४ गोल (५८ खेल)
- लिओनल मेस्सी – (५० गोल (५८ खेल)
- केलियन एमबाप्पे – ४४ गोल (४९ खेल)
- रहिम स्टर्लिङ – ४१ गोल (६१ खेल)
- क्रिस्टियानो रोनाल्डो – ३९ गोल (५० खेल)
- अल्फ्रेडो मोरेलोस – ३८ गोल (५३ खेल)
- आन्द्रेज स्पोरर – ३६ गोल (४६ खेल)
- इरिक सोर्गा – ३५ गोल (४५ खेल)
- सर्जियो अगुएरो – ३५ गोल (४९ खेल)
- करिम बेन्जेमा – ३५ गोल (५० खेल)
- ह्यारी केन – ३४ गोल (४५ खेल)
- साडियो माने – ३४ गोल (६१ खेल)