शानदार रोनाल्डो, शानदार दशक : हेर्नुहोस् तथ्यांकमा

एजेन्सी, पुस ९
हाल इटालियन क्लब युभेन्टसबाट खेलिरहेका पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो अहिले पनि उति खराब अवस्थामा छैनन् । ३४ वर्ष पुगेर ३५ लाग्न लागेका उनको बढ्दो उमेरलाई हेर्ने हो भने उनले अहिले मैदानमा जे गरिरहेका छन्, त्यो जोकोहीले गर्न सक्दैनन् ।

खेल्ने शैली, टिमलाई योगदान र गोल संख्यालाई हेर्दा पनि रोनाल्डो अझै पनि आफ्नो स्तरमै छन् । वर्ष २०१९ मा कूल ३९ गोलसहित यस वर्षलाई बिदा गरेका उनको रेकर्ड तारिफयोग्य नै छ ।

अहिले एकसे एक युवा र स्टार गोलकर्ता खेलाडी बजारमा छन् । तैपनि, रोनाल्डो २०१९ को टप–५ गोलकर्तामा छन्, सबैभन्दा बलियो प्रमाण यही हो ।

उमेर बुढ्यौलीतर्फ लागेका रोनाल्डोले यस वर्ष ४० गोलको आँकडा पूरा गर्नबाट १ गोलले पछि परे । तीन दिनअघि सुपरकोपा इटालियाको फाइनल खेलमा गोल गर्न असफल भएपछि उनले ४० गोलको आँकडा छुन पाएनन् ।

सो खेलमा गोल नगरे पनि रोनाल्डोले पछिल्लो दशकमा देश र क्लबका लागि गरेको कूल गोल संख्या ठीक ५५५ पुगेको छ । यो सन् २०१० देखि २०१९ सम्म गरेको वार्षिक गोल संख्याको रेकर्ड हो ।

यो दशकमा रोनाल्डोले कूल ५५५ गोल पूरा गर्दा सबैभन्दा बढी गोल वर्ष २०१३ मा ६९ गोल गरेका थिए । त्यसपछि सबैभन्दा कम गोल यसै वर्ष ३९ गोल गरे । अघिल्लो वर्ष उनले ४९ गोल गरेका थिए । यो क्लब र देश देश दुवै टोलीको तथ्यांक हो ।

रोनाल्डोको दशक यात्रालाई संख्यामा हेरौं :

  • २०१० – ४९ गोल
  • २०११ – ६० गोल
  • २०१२ – ६३ गोल
  • २०१३ – ६९ गोल
  • २०१४ – ६१ गोल
  • २०१५ –५७ गोल
  • २०१६ – ५५ गोल
  • २०१७ – ५३ गोल
  • २०१८ –४९ गोल
  • २०१९ – ३९ गोल

प्रकाशित मिति ९ पुष २०७६, बुधबार १२:४६
Loading...