‘उपाधिको खडेरी टार्न’ पिएसजीबाट काभानी भित्र्याउँदै एथ्लेटिको

एजेन्सी, पुस ९
उपाधिको खडेरी टार्ने उद्देश्यसाथ स्पेनिस क्लब एथ्लेटिको मड्रिडले उरुग्वेन फरवार्ड इडिसन काभानी अनुबन्ध गर्ने सम्भावना बढेको छ । हाल फ्रेन्च क्लब पिएसजीमा रहेका काभानीलाई जनवरी सिजनमै अनुबन्ध गर्ने तयारी एथ्लेटिकोले गरेको छ ।

एथ्लेटिकोका प्रशिक्षक डिएगो सिमोनी यतिबेला टोलीमा भरपर्दा फरवार्डको खोजीमा छन् । र, पछिल्लो समय पिएसजीमा बेन्चमा सीमित हुँदै आएका काभानीलाई सिमोनीले सबैभन्दा भरपर्दा फरवार्डका रूपमा हेरेका छन् ।

यो सिजनको सुरुआतबाटै पिएसजीमा काभानी बेन्चमा रहँदै आएका छन् । क्लबले इटालियन क्लब इन्टर मिलानबाट लोनमा अर्जेन्टिनी फरवार्ड माउरो इकार्डी अनुबन्ध गरेपछि काभानीले विरलै मात्रै खेल्न पाएका छन्, जसका कारण काभानी निकै निराश छन् ।

केही समयअघि मात्रै उनले आफू पेरिसमा खुसी नरहेको बताउँदै नयाँ विकल्को खोजीमा आफू रहेको बताएका थिए । लामो समयदेखि पिएसजीका लागि खेल्दै आएका काभानी क्लबबाट सक्दो चाँडो बहिर्गमनको खोजीमा छन् ।

टोलीका पुराना खेलाडी भएकाले क्लब पिएसजीले पनि काभानीको चाहनाअनुसार बिदा गर्ने देखिएको छ । २०१७ मा बार्सिलोनाबाट नेइमार र मोनाकोबाट केलियन एमबाप्पे नपुग्दासम्म काभानी टोलीका प्रमुख खेलाडी थिए । तर, नेइमारको आगमनसँगै उनको करिअर पिएसजीमा धरापमा परेको थियो ।

यता, एथ्लेटिकोले ३२ वर्षका स्टार फरवार्डलाई भित्र्याएर आक्रमणपंक्तिलाई मजबुत बनाउन चाहेको छ । अनुभवी फरवार्ड काभानीको अनुबन्धपछि एथ्लेटिकोसँग डिएगो कोस्टा, अल्भारो मोराटा, जुआओ फेलिक्स र काभानीसहितको फरवार्ड लाइन हुनेछ ।

काभानीलाई भित्र्याउन सके एथ्लेटिकोले घरेलु प्रतियोगितामा दाबेदारी बढाउने अपेक्षा गर्न सकिन्छ । यदि काभानी मेट्रोपोलिसानो उत्रिए ला लिगामा बार्सिलोना र रियल मड्रिडलाई टाउको दुखाइ हुने कतिपयको बुझाइ छ । पिएसजीमा काभानीको अनुबन्ध यो सिजनको अन्त्यसँगै सकिँदछ । एथ्लेटिकोले काभानीलाई निकै सस्तो मूल्यमा भित्र्याउन सक्ने सम्भावना छ । जारी सिजन काभानीले पिएसजीका लागि मात्रै १० खेल खेल्दै ३ गोल गरेका छन् ।

प्रकाशित मिति ९ पुष २०७६, बुधबार ११:४६
Loading...