‘कोपा अमेरिका अर्जेन्टिनाले भन्दा पहिला पोर्चुगलले जित्न सक्छ’

एजेन्सी, पुस ९
हालै इंग्लिस क्लब टोटनह्यामको प्रमुख प्रशिक्षकमा नियुक्त भएका प्रशिक्षक जोसे मोउरिन्होले दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिका लिओनल मेस्सीको टिम अर्जेन्टिनाभन्दा पहिला क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले जित्न सक्ने बताएका छन् । पछिल्ला वर्ष अर्जेन्टिनाले अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेको विषयामा व्यंग्य गर्दै मोउरिन्होले यस्तो बताएका हुन् ।

हालै एक अन्तर्वार्तामा बोल्दै पोर्चुगलका म्यानेजर उनले आफ्नो देशका सुपरस्टार रोनाल्डो र अर्जेन्निाका सुपरस्टार मेस्सीको तुलना गर्दै मेस्सीलाई अब आफ्नो करिअरमा अन्तर्राष्ट्रिय उपाधि जित्न कठिन रहेको बताए । ‘मेस्सी उत्कृष्टमध्येका एक खेलाडी हुन्, म यो सधैं भन्छु । उनले क्लब फुटबलमा सबैकुरा जितेका छन्, अझै जित्नेछन्,’ मोउरिन्होले भनेका छन्, ‘तर मलाई लाग्छ, उनले अर्जेन्टिनाबाट उपाधि जित्ने समय अब सकियो ।’

अन्तर्राष्ट्रिय करिअरमा रोनाल्डोसँग मेस्सीको तुलना हुन नसक्ने मोउरिन्होले बताए । ‘व्यक्तिगत रूपमा मेस्सीको तथ्यांक राम्रो छ । उनीसँग नभएको उपाधि मात्रै हो,’ मोउरिन्होले रोनाल्डोको तारिफ गर्दै भने, ‘मलाई लाग्छ, अन्तर्राष्ट्रिय करिअरमा रोनाल्डो मेस्सीभन्दा धेरै माथि छन् । र, यो कुरा मेस्सीलाई राम्रोसँग थाहा छ ।’

पत्रकारसँग ठट्टा गर्दै मोउरिन्होले यदि कोपा अमेरिका आयोजकले पोर्चुगललाई पाहुना टिम बनाएर प्रतियोगितामा बोलाउने हो भने कोपा अर्जेन्टिनाभन्दा पहिला पोर्चुगलले जित्ने बताए ‘यदि पोर्चुगललाई कोपा अमेरिका खेल्न बोलाइयो भने मेस्सीभन्दा पहिला रोनाल्डोले उपाधि जित्न सक्छन् । किनभने, रोनाल्डो च्याम्पियन खेलाडी हुन् । र, उनीसँग च्याम्पियन टिम छ ।’

मोउरिन्होले मेस्सी देशका लागि उपाधि जित्न कतार विश्वकपसम्म टोलीमा रहन सक्ने बताए । ‘उनी अझै पनि अर्जेन्टिनाबाट केही न केही जित्न चाहन्छन् । यो सपना पूरा गर्न पनि उनी २०२२ को विश्वकपसम्म राष्ट्रिय टोलीमा रहन सक्ने मेरो अनुमान छ,’ मोउरिन्होले भने, ‘अर्जेन्टिनामा अहिले युवा टोली राम्रो छ । र, त्यो टिमले मेस्सीलाई अन्तर्राष्ट्रिय उपाधि जित्न सघाउन सक्छ ।’

प्रकाशित मिति ९ पुष २०७६, बुधबार ०९:४४
Loading...