सुपरकोपा हारेपछि युभेन्टसमा ‘हलचल’ : प्रशिक्षकसँग रिसाए खेलाडी

एजेन्सी, कात्तिक ८
सुपरकोपा इटालियाको फाइनलमा हारेपछि युभेन्टसमा ‘हलचल’ सुरु भएको छ । सिजनको पहिलो उपाधि भिडन्तमा नमिठो हार पुगेपछि टोलीका खेलाडी र प्रशिक्षकबीचक टकराव बढेको खबर इटालीका पत्रिकाले छापेका छन् ।

दुई दिनअघि साउदी अरेबियामा भएको सुपरकोपाको फाइनलमा युभेन्टस लिग प्रतिस्पर्धी टिम लाजियोसँग ३–१ ले हारेको थियो । त्यसअघि घरेलु लिगमा पनि युभेन्टस लाजियोसँग ३–१ नै हारेको थियो । खबरअनुसार सुपरकोपा हारेपछि टोलीका प्रमुख खेलाडी क्रिस्टिायनो रोनाल्डो प्रशिक्षक सार्रीको खेल रणनीति र योजनाबाट खुसी छैनन् ।

लाजियोसँग लगातार दोस्रो खेल हार्नुमा प्रशिक्षकको खेलाडी छनौट र रणनीतिमा कमजोरी रहेको रोनाल्डोको बुझाइ छ । रोनाल्डोले सो खेलमा सुरुआती टोलीमा राख्नुपर्ने खेलाडीलाई बेन्चमा राख्दा टिम दबाबमा परेर नतिजा गुमाएको ठानेका छन् ।

खबरअनुसार सो खेलमा रोनाल्डोले सुरुआती टिममा रक्षापंक्तिमा माथिस डि लिग्ट र आक्रमण लाइनमा डग्लस कोस्टालाई राख्न प्रशिक्षकलाई सुझाव दिएका थिए । तर, सार्रीले ती दुवै खेलाडीलाई बेन्चमा राखेका थिए । कोस्टा खेलको अन्तिमतिर मैदान छिरे पनि डि लिग्ट मैदान नै उत्रिएनन् ।

यता, टोलीका कप्तान लियोनार्दो बोनुची पनि पछिल्ला खेलमा प्रशिक्षकको रणनीतिलाई लिएर असन्तुष्ट रहेको बताइन्छ । उनले यसबारे प्रशिक्षकसँग कुरा गरेका पनि छन् । लाजियोविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै बोनुचीले खेल रणनीतिमा प्रशिक्षकसँग बेला–बेला खेलाडीले हस्तक्षेप गर्ने गरेको बताउँदै यसको संकेत दिएका थिए । लाजियोसँग हारेपछि बोनुची थप रुष्ट बनेका छन् ।

साबिक विजेता युभेन्टस कोपामा हारेपछि बाहिर पनि सार्रीको चर्को आलोचना बढेको छ । इटालीका मिडियाले सार्रीको खेल रणनीति र खेलाडी छनौटको आलोचना गरेका छन् । यता, समर्थकहरूले पनि टोलीमा एकसे एक खेलाडी भए पनि सार्रीले प्रयोग गर्न नजानको भन्दै आलोचना गरेका छन् । उनीहरूले सार्रीलाई खेल शैली र रणनीतिमा नयाँपन खोज्नसुझाव दिएका छन् ।

प्रकाशित मिति ८ पुष २०७६, मंगलवार १९:३१
Loading...