समरमा नेइमार फर्काउन बार्सिलोनाको एक मात्रै ‘सजिलो सर्त’

एजेन्सी, पुस ८
स्पेनिस बार्सिलोनाले गत समर सिजनमै आफ्ना पूर्वखेलाडी ब्राजिलियन नेइमारलाई फ्रेन्च क्लब पिएसजीबाट फर्काउन ठूलै प्रयास गरेको थियो । तर, पिएसजीको महँगो मूल्यका कारण बार्सिलोनाले निर्णायक कदम चाल्न सकेन ।

आगामी समर सिजनमा बार्सिलोनाले अझै पनि नेयमार फर्काउने विषयलाई उच्च प्राथमिकतामा राखेको छ । यस्तो रिपोर्ट बार्सिलोना निकट मानिने पत्रिका ‘मुन्डो डेपोर्टिभो’ले छापेको छ । उसले पत्रिकाको ताजा संस्करणको फ्रन्ट पेजमै नेइमारको बार्सिलोना फिर्ती खबरलाई प्राथमिकतासाथ छापेको छ ।

नेइमार सन् २०१७ मा विश्वकीर्तिमानी २२२ मिलियन युरो मूल्यमा पिएसजी पुगेका थिए । तर, उनी विविध कारणले पेरिसमा खुसी छैनन् । र, उनले पुनः बार्सिलोना फर्किन चाहेका छन् । बार्सिलोनाका कप्तान लिओनल मेस्सीसहित अन्य केही खेलाडी पनि नेइमार फर्काउन लागिपरेका छन् ।

यस्तो अवस्थाबीच स्पेनिस मिडियाले बार्सिलोनाले आगामी समर सिजनमा नेइमारको फिर्तीलाई सबैभन्दा ठूलो सरुवा योजनाका रूपमा तयार पारेको जनाएका छन् । २७ वर्षीय पूर्वखेलाडी नेइमार फर्काउन बार्सिलोनाका तर्फबाट एक सजिलो सर्त रहने खबरमा उल्लेख छ ।

त्यो भनेको नेइमारको ‘फिटनेस’ हो । यदि नेइमार आगामी समर अथवा २०२० मा पनि हालकै अवस्थाजस्तो फिट रहिरहे मात्रै बार्सिलोना नेइमार फर्काउन अग्रसर हुनेछ । यदि उनी फेरि पनि गम्भीर घाइते भएको अवस्थामा बार्सिलोनाको सरुवा योजनाबाट नेइमार सधैंका लागि आउट हुने खबरमा उल्लेख छ ।

पछिल्ला दुई वर्ष पटक–पटक गम्भीर चोटबाट गुज्रिएका नेइमारलाई पटक–पटक घाइते भइरहने अवस्थाबीच बार्सिलोना भित्र्याउने पक्षमा छैन । त्यसका लागि उसले नेइमारको ‘१०० प्रतिशत फिटनेस’ चाहेको छ । र, अबको सिजनमा नेइमारको स्पेन फिर्ती रकम वा अन्य प्राविधिक कुराले भन्दा उनको फिटनेसलाई बार्सिलोनाले मुख्य रूपमा हेर्ने बताइएको छ ।

यसअघि नेइमार नबेच्ने अवस्थामा रहेको पिएसजीले ३०० मिलियन युरो मूल्य राखेको थियो । तर, अब पिएसजीले नेइमार बेच्नु परे १८० मिलियन युरोभन्दा बढी मूल्य पाउनेछैन । किनभने, नेइमारको सरुवा रकम अबको समरमा फिफाले नै तोक्नेछ । र, त्यो अधिकतम् १८० मिलियन युरोभन्दा बढी हुनेछैन ।

यता, यदि बार्सिलोनाले नेइमार फर्काउने अवस्था आए उसले ब्राजिलका आफ्ना खेलाडी फिलिपे कोउटिन्होलाई स्थायी रूपमै बेच्नुपर्ने हुन्छ । नेइमारका लागि रकम जम्मा गर्न उसले हाल लोनमा जर्मन क्लब बार्यन म्युनिखमा रहेका कोउटिन्होलाई स्थायी रूपमै बेच्नेछ ।

गत समर सिजनमा बार्सिलोनाले कोउटिन्होलाई लोनमा बार्यन पठाउँदा नै खेलाडी किन्ने अधिकार बार्यनलाई दिएको छ, जसअनुसार यो सिजनपछि बार्यनले चाहे १२० मिलियन युरो बार्सिलोनालाई तिरेर कोउटिन्होलाई स्थायी रूपमा खरिद गर्न सक्नेछ ।

प्रकाशित मिति ८ पुष २०७६, मंगलवार १८:४७
Loading...