‘मेस्सीले २०२० को पनि बालोन डि‘ओर जित्ने ढोका खुलिसक्यो’

एजेन्सी, पुस ८
स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीले वर्ष २०१९ को बालोन डि‘ओर अवार्ड जितेपछि उनी अब यस धर्तीमा ६ वटा बालोन डि‘ओर जित्ने एक मात्रै खेलाडी बनेका छन् । तर, बार्सिलोनाका लिजेन्ड खेलाडी रिभाल्डोले भने मेस्सीले अर्को वर्ष २०२० मा पनि बालोन डि‘ओर जित्न दाबी गरेका छन् ।

ब्राजिलका रिभाल्डोले मेस्सीले सातौं बालोन डि‘ओर जित्ने ढोका खुला भइसकेको बताएका हुन् । मेस्सीले वर्ष २०१९ मा ५० गोलको आँकडा पूरा गरेकाले उनलाई अर्को वर्षका लागि एक आधार बन्ने बताए । ‘मलाई लाग्दैन, छैटौं नै मेस्सीको अन्तिम बालोन डि‘ओर हो, उनले अझै यो अवार्ड जित्नेछन्,’ स्पेनिस पत्रिकासँग कुरा गर्दै रिभाल्डोले भनेका छन्, ‘मलाई लाग्छ, उनले अर्को वर्ष पनि यो उपाधि जित्न सक्छन् ।’

रिभाल्डोले अघि थपे, ‘२०१९ मा उनले ५० गोल पूरा गरेर अर्को अवार्डको ढोका खोलेका छन् । यो ठूलो कारण त होइन तर २०२० का लागि पहिलो खुड्किलो भने हो ।’

रिभाल्डोले अर्को वर्ष बालोन डि‘ओर जित्न मेस्सीले घरेलु लिगका साथै च्याम्पियन्स लिग र कोपा अमेरिकामध्ये एक प्रतियोगिता जित्नुपर्ने बताए । ‘अबको वर्ष बालोन डि‘ओरका लागि यस वर्षभन्दा निकै कडा प्रतिस्पर्धा हुनेवाला छ । तसर्थ यदि मेस्सी सातौं बालोन डि‘ओर जित्न चाहन्छन् भने उनले व्यक्तिगत रूपमा उच्च प्रदर्शनसँगै च्याम्पियन्स लिग वा कोपा अमेरिकामध्ये एक उपाधि जित्नुपर्छ,’ रिभाल्डोले भने, ‘तर, मैले यी दुवै जित्न सजिलो देखिरहेको छैन ।’

रिभाल्डोले बार्सिलोनाले नेइमारलाई फर्काए युरोपियन उपाधि जित्ने सम्भावना बढ्ने पनि बताए । ‘यदि नेइमारलाई पुनः फर्काइयो भने बार्सिलोनाले युरोपियन सफलता फर्काउने सम्भावना बढ्छ,’ उनले थपे ।

प्रकाशित मिति ८ पुष २०७६, मंगलवार १२:५९
Loading...