‘एक उपाधि हार्दैमा युभेन्टस सकिँदैन, अझै तीन प्रतियोगिता बाँकी छन्’

एजेन्सी, पुस ८
दुई दिनअघि साबिक विजेता युभेन्टसलाई हराउँदै लाजियोले २०१९ को सुपरकोपा इटालियाको उपाधि जित्यो । साउदीमा भएको फाइनल खेलमा सुपरस्टार खेलाडीसहितको युभेन्टस ३–१ ले स्तब्ध बन्दा सिजनको पहिलो उपाधि जित्नबाट चुक्यो ।

सो हारपछि युभेन्टसका उपकप्तान लियोनार्दो बोनुचीले एक हारले आफूहरू नसकिने बताएका छन् । इटाली फर्किएपछि मिडियासँग कुरा गर्दै उनले हार अनपेक्षित भए पनि सो हारबाट पाठ सिक्नुपर्ने बताए । उनले लाजियो राम्रो खेलेर उपाधि जितेको पनि बताए ।

‘उनीहरूले उपाधि जिते । किनभने, उनीहरू हामीभन्दा राम्रो अवस्थामा थिए,’ बोनुचीले भने, ‘म लाजियो टिमलाई बधाई दिन चाहन्छु ।’

बोनुचीले उपाधि हार्दा थुप्रै प्रश्न उठ्ने भए पनि सधैं सबै खेल र उपाधि जित्न नसकिने बताए । ‘हाम्रा लागि यो निकै महत्त्वपूर्ण थियो । तर, हामीले आवश्यक परेका बेला गोल गर्न सकेनौं,’ बोनुचीले भने, ‘हामीले किन जित्न सकेनौं भन्ने कुरा हामीलाई थाहा छ । हामी यो हारबाट पाठ सिक्नेछौं ।’

बोनुचीले एक हारले युभेन्टस नसकिने भन्दै यो सिजन अझै थुप्रै उपाधि बाँकी रहेको बताए । ‘सुपरकोपा हार्दैमा युभेन्टस सकिँदैन । वा, यो सिजन सकिँदैन,’ उनले भने, ‘हामीसँग अझै तीन प्रतियोगिता र उपाधि बाँकी छन् ।’

प्रकाशित मिति ८ पुष २०७६, मंगलवार १२:४३
Loading...