रातो कार्ड पाएका सनमाथि कडा कारबाहीको फैसला

एजेन्सी, पुस ८
इंग्लिस क्लब टोटनह्यामका दक्षिण कोरियन फरवार्ड सन हेङ–मिनमाथि लिगले कठोर कारबाहीको फैसला गर्दै तीन खेलको निर्णय सुनाएको छ । दुई दिनअघि प्रिमियर लिगमा चेल्सीसँगको लन्डन डर्बी भिडन्तमा सनलाई रातो कार्ड दिइएको थियो ।

सन खेलको ६२औं मिनेटमा सोझै रातो कार्ड पाएर मैदान छाडेका थिए । चेल्सीका खेलाडीमाथि जानी–जानी फउल गरेको र त्यसपछि पनि लडेको अवस्थामा किक हानेको आरोपमा रेफ्रीले उनलाई भिएआरबाट सोझै रातो कार्ड दिएका थिए । टोटनह्याम सो खेलमा आफ्नै घरमा पाहुना टोली चेल्सीसँग ०–२ ले हारको थियो ।

खेल रेफ्रीले लिगको प्रतियोगिताको अनुशासन समिति समक्ष बुझाएको प्रतिवेदनका आधारमा लिगले उनीमाथि आगामी तीन खेलसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको हो । सामान्यतः रातो कार्डपछि एक खेलमा प्रतिबन्ध लाग्छ ।

तर, सनले नियोजित रूपमा खेलाडीमाथि किक हानेको भन्दै अधिकतम् कारबाहीस्वरूप ३ खेलमा प्रतिबन्ध लगाउने निर्णय गरिएको हो । लिगको सो निर्णयविरुद्ध टोटनह्यामले अपिल गेको छ । तर, अपिल सुनुवाई हुने सम्भावना निकै कम छ ।

यदि अपिल सुनुवाई नभए सनले प्रिमियर लिगका आगामी तीन खेल खेल्न पाउनेछैनन् । उनले बिहीबार हुने ब्राइटन, नर्विच सिटी र साउथह्यामपटनसँगको खेल गुमाउनेछन् ।

जारी सिजन लिगमा सनले १६ खेल खेल्दै ५ गोल गरेर ७ खेलमा असिस्ट गरेका छन् । उनी टोलीका प्रमुख खेलाडी हुन् ।

प्रकाशित मिति ८ पुष २०७६, मंगलवार १२:०३
Loading...