रोनाल्डोको ‘च्याम्पियन यात्रा’मा ब्रेक : १२ फाइनलमा १२ उपाधि, १३औं मा हार !

काठमाडौं, पुस ७
गत राति इटालीको क्लब युभेन्टसले यस सिजनको सुपरकोपा इटालियाको फाइनलमा हार भोग्यो । लिग प्रतिस्पर्धी टिम लाजियोसँग साउदी अरेबियामा ३–१ ले हार्दा साबिक च्याम्पियनले उपाधि जोगाउन सकेन । सो उपाधि गत सिजन युभेन्टसले नै जितेको थियो ।

युभेन्टस उपाधि भिडन्तमा हार्दा टोलीका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले भने लामो समयपछि फाइनलमा हारको पीडा भोगेका छन् । ‘च्याम्पियन खेलाडी’का रूपमा चिनिएका रोनाल्डोले क्लब र राष्ट्रिय दुवै टोलीबाट खेलेका फाइनल खेल प्रायः हारेका छैनन् ।

तर, गत राति उनले युभेन्टसको जर्सीमा फाइनल भिडन्तमा पहिलोपटक हार भोगे । र, रोनाल्डो फाइनलमा हारेको यो समयका हिसाबले ६ वर्ष र खेलका हिसाबले १२ फाइनल खेलपछि पहिलोपटक हो । सन् २०१३ यता रोनाल्डोले पोर्चुगल र क्लब दुवै टोलीबाट फाइनल पुगेका कुनै पनि प्रतियोगिता हारेका थिएनन् ।

२०१३ मा रियल मड्रिड कोपा डेल रे फुटबलको फाइनलमा एथ्लेटिको मड्रिडसँग हारेको थियो । त्यसपछि रियलबाट ९, पोर्चुगलबाट २ र गत वर्ष युभेन्टसबाट १ गरी कूल १२ प्रतियोगिताको फाइनल पुगेका रोनाल्डोले सबै फाइनल जितेका थिए । २०१३ पछि ६ वर्षको अवधिमा रोनाल्डोको करिअरमा हारको छायाँसमेत परेन, हरेक फाइनलमा उपाधि नै उपाधि !

२०१८ मा रियल छाडेर युभेन्टस पुगेका रोनाल्डोले त्यहाँबाट खेलेको पहिलो फाइनलमा सुपरकोपा इटालियाको उपाधि जितेर च्याम्पियन छविलाई कायमै राखेका थिए । यसै वर्ष मात्रै युइएफए नेसन्स लिगमा पनि रोनाल्डोले शानदार प्रदर्शन गर्दै पोर्चुगललाई फाइनलसम्म लगे । र, उपाधि जिताएरै छाडे ।

तर, २०१९ को अन्तिम साता उनी फाइनलमा पराजित हुन पुगे । उनको शानदार च्याम्पियन यात्रामा युभेन्टसको जर्सीमा दोस्रो फाइनलमै ब्रेक लाग्यो । यदि गत राति सुपरकोपा जितेको भए रोनाल्डोका नाममा सन् २०१३ यता खेलेका सबै फाइनल खेल जित्दै सबैभन्दा छोटो अवधिमा सबैभन्दा धेरै उपाधि जित्ने खेलाडीको दुर्लभ रेकर्ड नै बन्ने थियो । युभेन्टसको उपाधि यात्रामा लाजियो तगारो बन्दा रोनाल्डो आफ्नो रवाफपूर्ण च्याम्पियन यात्रामा ब्रेक लगाउन बाध्य भए । सन् २०१३ मा कोपा डेल रे फुटबलको फाइनल हारेयता रोनाल्डो ६ वर्षको अवधिमा फाइनल पुगेका खेलको तथ्यांक यस्तो छ :

सन् २०१३ :

कोपा डेल रे – रियल मड्रिड १–२ एथ्लेटिको मड्रिड – पराजित

सन् २०१४ :

च्याम्पियन्स लिग – रियल मड्रिड ४–१ एथ्लेटिको मड्रिड – विजेता
युइएफए सुपर कप – रियल मड्रिड २–० सेभिल्ला – विजेता
फिफा क्लब विश्वकप – रियल मड्रिड २ –० सान लोरेन्जो – विजेता

सन् २०१६ :

च्याम्पियन्स लिग – रियल मड्रिड ५–३ एथ्लेटिको मड्रिड – विजेता
युरो कप – पोर्चुगल १–० फ्रान्स – विजेता
फिफा क्लब विश्वकप – रियल मड्रिड ४–२ कासिमा एन्टलर्स – विजेता

सन् २०१७ :

च्याम्पियन्स लिग – रियल मड्रिड ४–१ युभेन्टस – विजेता
युइएफए सुपर कप – रियल मड्रिड २–१ म्यानचेस्टर युनाइटेड – विजेता
फिफा क्लब विश्वकप – रियल मड्रिड १ – ० ग्रेमियो – विजेता

सन् २०१८ :

च्याम्पियन्स लिग – रियल मड्रिड ३ – १ लिभरपुल – विजेता
सुपरकोपा इटालिया – युभेन्टस १ – ० एसी मिलान – विजेता

सन् २०१९

युइएफए नेसन्स लिग – पोर्चुगल १–० नेदरल्यान्ड्स – विजेता
सुपरकोपा इटालिया – युभेन्टस १–३ लाजियो – पराजित

प्रकाशित मिति ७ पुष २०७६, सोमबार १८:३५
Loading...