मेस्सीलाई विश्वकप जिताउने मार्टिनेजको सपना !

एजेन्सी, पुस ७
इटालियन क्लब इन्टर मिलानका अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले आफूले लिओनल मेस्सीलाई विश्वकप फुटबलको उपाधि जिताउन मदत गर्ने सो कुरा आफ्नो सपनाजस्तै रहेको बताएका छन् । आगामी समर सिजनमा स्पेनिस बार्सिलोना सर्न सक्ने चर्चामा रहेका बेला हालै एक अन्तर्वार्तामा बोल्दै उनले मेस्सीबारे पनि धारणा राखेका हुन् ।

मार्टिनेजले अर्जेन्टिनी टोलीमा आफूले मेस्सीसँग खेलेर उनलाई विश्वविजेता बनाउने सपना रहेको बताएका छन् । ‘लियो विश्वकै उत्कृष्ट खेलाडी हुन् । तर, उनले अझै केही कुरा जित्न बाँकी छ । तब मात्रै उनको यो विराट करिअरले सार्थकता पाउँछ,’ मार्टिनेजले भनेका छन्, ‘म उनलाई विश्वकप जित्न मदत गर्न चाहन्छु ।’

मार्टिनेजले अर्जेन्टिनाले २०२० को कोपा अमेरिका र २०२२ को विश्वकप जित्न सक्ने बताए । ‘हामी चाँडै कोपा अमेरिका खेल्दैछौं । हाम्रो लक्ष्य अर्को वर्ष सो प्रतियोगिता जित्नु हो,’ मार्टिनेजले भने, ‘हामी २०२२ को विश्वकप पनि जित्न चाहन्छौं । हामीसँग अहिले युवा टोली तयार हुँदैछ । मलाई आशा छ, मेस्सी पनि त्यसबेलासम्म राष्ट्रिय टोलीमा हुनेछन् ।’

मेस्सी हाल ३२ वर्षका भए । कतार विश्वकपसम्म पुग्दा उनी ३५ वर्षका हुनेछन् । त्यसबेलासम्म उनले अर्जेन्टिना वा फुटबलबाटै सन्यास लिइसक्ने धेरैको अनुमान छ ।

यता, मार्टिनेजले आफू हाल मिलानमा खुसी रहेको पनि बताए । ‘म यहाँ निकै ठीक छु । म टोलीका एक प्रमुख हिस्सा छु । र, यो मेरा लागि सबैभन्दा ठूलो कुरा हो,’ मार्टिनेजले भने, ‘म धेरैभन्दा धेरै खेल्न चाहन्छु । र, यो मेरा लागि सही ठाउँ हो ।’

प्रकाशित मिति ७ पुष २०७६, सोमबार १३:४४
Loading...