फाइनलमा हारेपछि रोनाल्डोले उपविजेताको मेडल लगाउन मानेनन्

एजेन्सी, कात्तिक ७
गत राति भएको सुपरकोपा इटालियाको फाइनल खेलमा साबिक च्याम्पियन युभेन्टस लिग प्रतिस्पर्धी टिम लाजियोसँग ३–१ ले पराजित भयो । साउदी अरेबियामा भएको फाइनल खेलमा टोलीका प्रमुख खेलाडी क्रिस्टियानो रोेनाल्डो, पाउलो डिबाला, गोन्जालो हिगुइनले पूरै समय खेले पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।

अक्सर फाइनल खेल नहार्ने रोनाल्डो कोपाको फाइनल हारेपछि निकै रुष्ट र निराश थिए । यतिसम्म कि, उनले उपविजेताको मेडलसमेत लगाएनन् । खेलपछि अवार्ड तथा मेडल वितरणक्रममा अतिथिले रोनाल्डोलाई मेडल लगाइदिए । तर, रोनाल्डोले तुरुन्तै मेडल गलाबाट निकालेर हातमा बोके ।

त्यसपछि मैदानमा रहँदा पनि रोनाल्डो निकै निराश देखिन्थे । यो सिजनको पहिलो उपाधि जित्नबाट टिम असफल भएपछि रोनाल्डो निराश हुनु स्वभाविक थियो । गएको सिजन रोनाल्डोकै १ मात्रै विजयी गोलको मदतमा युभेन्टसले सुपरकोपाको उपाधि जितेको थियो । तर, यसपटक न रोनाल्डोको जादु चल्यो न, टिमले उपाधि रक्षा गर्न सक्यो ।

लाजियोसँग अघिल्लो साता घरेलु लिगमा ३–१ ले हारेको युभेन्टस लगत्तै सोही टिमसँग उपाधि भिडन्तमा ३–१ नै हारेपछि खेलाडी र टिमलाई चोट पर्नु स्वभाविक थियो । युभेन्टसले अब आगामी खेल २०२० को जनवरी ६ तारिखमा घरेलु लिगमा क्याग्लीअरीसँग खेल्नेछ ।

गत जुलाईमा ब्राजिलमा भएको कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाका लिओनल मेस्सीले पनि मेडल लगाउन अस्वीकार गरेका थिए । चिलीसँग तेस्रो स्थानका लागि भएको खेल जिते पनि रातो कार्ड पाएका मेस्सी तेस्रो टिमको मेडल थाप्ने कार्यक्रममै उपस्थित भएका थिएनन् ।

प्रकाशित मिति ७ पुष २०७६, सोमबार ११:५५
Loading...