१३ वर्षपछि रियल मड्रिडका नाममा बन्यो यस्तो खराब रेकर्ड

काठमाडौं, पुस ७
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड गत राति वर्षको अन्तिम खेलमा एथ्लेटिक बिल्बाओसँग गोलरहित बराबरीमा रोकियो । २०१९ को अन्तिम खेलबाट लिग लिडर बार्सिलोनासँग अंक बराबरी गर्न जित आवश्यक रहेका बेला आफ्नै घरमा बराबरीमा रोकिएपछि रियल बार्सिलोनासँग स्पष्ट रूपमा २ अंकले पछि परेको छ ।

त्यत्ति मात्रै हैन, पछिल्ला तीन लिग खेलमा लगातार बराबरी खेलेपछि रियलका नाममा १३ वर्षपछि खराब रेकर्ड बनेको छ । रियलले पछिल्ला तीन खेलमा एक खेल पनि जित्न सकेन । र, लिगका तीन खेल लगातार बराबरी खेलेको यो सन् २००६ पछि पहिलोपटक हो ।

२००६ को मार्च महिनामा पनि रियलले लगातार ला लिगाका तीन खेल बराबरी खेलेको थियो । त्यसयता उसले कुनै पनि सिजन लगातार तीन खेल बराबरीमा रोकिनु परेको थियो । गत राति आफ्नै घरमा गोल गर्न नसक्दा रियलका नाममा १३ वर्षपछि खराब रेकर्ड बन्यो ।

गत राति गोलरहित बराबरी खेलेको रियलले डिसेम्बर १८ मा इएल क्लासिको बार्सिलोनासँग अवे मैदानमा पनि गोलरहित बराबरी नै खेलेको थियो । त्यसअघि अवे मैदानमै भ्यालेन्सियासँग पनि रियल १–१ को बराबरीमा रोकिएको थियो ।

लिगका १८ खेलपछि रियल अब ३७ अंकसहित दोस्रो स्थानमा छ । बार्सिलोना समान खेलछि ३९ अंक बनाएर शीर्ष स्थानमा छ ।

प्रकाशित मिति ७ पुष २०७६, सोमबार १०:३०
Loading...