चेल्सीद्वारा टोटनह्यामको उसकै घरमा रामधुलाइ : सनलाई रातो कार्ड !

काठमाडौं, पुस ७
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम आफ्नै घरमा नमिठो हारको सिकार भएको छ । आइतबार राति भएको लिगको १८औं खेलमा भ्रमणकारी टोली चेल्सीले टोटनह्यामलाई उसकै घरेलु मैदानमा ०–२ ले निराश बनायो ।

यससँगै नयाँ प्रशिक्षक जोसे मोउरिन्होको नेतृत्वमा टोटनह्यामले समग्रमा दोस्रो तथा पहिलो घरेलु खेलमा हार व्यहोरेको छ । आफ्नो घरमा दक्षिण कोरियन खेलाडी सन हेङ–मिन ६२औं मिनेटमा सोझै रातो कार्ड खाएर मैदान छाडेपछि टोटनह्यामलाई झट्का लागेको थियो ।

पाहुना टोली चेल्सीको जितमा विलियन नायक बने । २ वटै गोल उनैले गरे । खेलको १२औं मिनेमा विलियनले शानदार प्रहारमा पहिलो गोल गरेका थिए ।

त्यसपछि पहिलो हाफको थप सयममा चेल्सीले पेनाल्टी पायो । बक्समा टोटनह्यामका गोलकिपरले चेल्सीका खेलाडीमाथि फउल गरेपछि रेफ्रीले भिआएरबाट चेल्सीलाई पेनाल्टी दिए । जसमा थपिएको चौथो मिनेटमा विलियनले नै पेनाल्टीमार्फत् गोल गरेपछि चेल्सी घरेलु टोलीविरुद्ध ०–२ ले अघि रह्यो ।

त्यसपछि दोस्रो हाफमा घरेलु टोली खेलमा फर्किन संघर्षरत थियो । तर, सनले विपक्षी खेलाडीमाथि गम्भीर फउल गरेपछि सोझै रातो कार्ड खाँदै बाहिरिएपछि टोटनह्यामको समस्या बढेको थियो । टोटनह्यामले घरमा गोलका अवसर बनाउन नसक्दा गोलविहीन बन्यो । र, खेल चेल्सीले ०–२ ले जित्यो । अब यो जितपछि चेल्सीले १८ खेलबाट ३२ अंक जोडेको । पराजित टोटनह्याम २६ अंकसहित सातौं स्थानमा छ ।

प्रकाशित मिति ७ पुष २०७६, सोमबार ०१:२६
Loading...