युभेन्टसको धुलाइ गर्दै लाजियोले जित्यो सुपरकोपाको उपाधि

काठमाडौं, पुस ७
यो सिजनको इटालियन कप सुपरकोपा इटालियाको उपाधि लाजियोले जितेको छ । लाजियोले फाइनल खेलमा साबिक विजेता युभेन्टसलाई ३–१ ले स्तब्ध बनाउँदै उपाधि पोल्टामा पारेको हो ।

साउदी अरेबियास्थित किङ साउद स्टेडियममा भएको उपाधि भिडन्तमा लाजियोले उत्कृष्ट प्रदर्शन गर्दै सहज नतिजा निकाल्यो । लाजियोले खेलको १६औं मिनेटमा लुइस अल्बेर्टोको गोलबाट अग्रता लिएको थियो ।

तर, खेलको ४५औं मिनेटमा युभेन्टसका लागि पाउलो डिबालाले गोल गर्दै पहिलो हाफमा खेल १–१ बनाए । तर, दोस्रो हाफमा लाजियोले नतिजा आफ्नो पक्षमा लग्यो । खेलको ७३औं मिनेटमा सेनाडले उत्कृष्ट गोल गोल गर्दै युभेन्टसलाई २–१ को झट्का दिएका थिए ।

सो गोलपछि खेलमा फर्किन संघर्षरत युभेन्टसका सबैखाले प्रयास खेर गए । र, इन्जुरी समयमा लाजियोका लागि थपिएको समयको चौथो मिनेटमा ड्यानिलो क्याटाल्डीले फ्रि किकमा शानदार गोल गरेपछि खेल लाजियोले ३–१ ले जित्यो ।

यससँगै युभेन्टस एकै सातामा लाजियोसँग दुईपटक समान ३–१ ले पराजित भएको छ । ६ दिनअघि मात्रै घरेलु लिगमा लाजियोले नै युभेन्टसलाई ३–१ ले हराएर सिजनको पहिलो हार चखाएको थियो ।

प्रकाशित मिति ७ पुष २०७६, सोमबार ०१:५१
Loading...