२०औं स्थानको वाटफोर्डले म्यानचेस्टर युनाइटेडलाई चखायो लज्जास्पद हार !

काठमाडौं, पुस ६
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड अर्को नमिठो हारको सिकार भएको छ । आइतबार राति भएको लिगको १८औं खेलमा युनाइटेडलाई लिगको सबैभन्दा पुछार २०औं स्थानको वाटफोर्डले २–० को नमिठो हारको सिकार बनायो ।

आफ्नो घरमा वाटफोर्डले पाहुना टोली युनाइटेडविरुद्ध खेलको ५०औं मिनेटमा अग्रता लिएको थियो । इसमाइला सार्रको प्रहार युनाइटेडका गोलकिपर डेभिड डि गेयाको लापरबाहीका कारण जाली चुमेको थियो । डि गेयाले हलुका गतिको प्रहार समाउन खोज्दा शीरमाथि दुई हातका बीचमा चिप्लिएर छिरेको थियो ।

गोल खाएर पछि परेको युनाइटेड खेलमा फर्किन संघर्षरत थियो । तर, खेलको ५४औं मिनेटमै वाटफोर्डले पेनाल्टी पायो । युनाइटेडका डिफेन्डरले वाटफोर्डका खेलाडीलाई बक्समा लडाएपछि पाएको पेनाल्टीमा वाटफोर्डका कप्तान टोरी डिनेले गोल गर्दै खेल २–० बनाए ।

त्यसपछि युनाइटेड खेलमा फर्किन सकेन । र, खेल वाटफोर्डले जित्यो । यससँगै युनाइटेडले सिजनको पाँचौं हार भोग्दा वाटफोर्डले भने दोस्रो जित निकाल्न सफल भयो । अब विजयी वाटफोर्ड १८ खेलबाट १२ अंकसहित २०औं स्थानमा छ भने पराजित युनाइटेड २५ अंकसहित आठौं स्थानमा छ ।

प्रकाशित मिति ६ पुष २०७६, आईतवार २२:१९
Loading...