क्लब विश्वकप जितेपछि बार्सिलोनाबारे क्लोपले गरे यस्तो ‘मजाक’

एजेन्सी, पुस ६
इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले स्पेनिस क्लब बार्सिलोनासँग गत सिजन च्याम्पियन्स लिगमा भएको खेल र भविष्यबारे रमाइलो प्रतिक्रिया दिएका छन् । गत राति कतारमा भएको फिफा क्लब विश्वकपको उपाधि जितेपछि क्लोपलाई मिडियाले बार्सिलोनाबारे सोधेका थिए । जसमा उनले रमाइलो प्रतिक्रिया दिए ।

लिभरपुलले ब्राजिलको क्लब फ्लामेन्गोलाई १–० ले हराएर पहिलोपटक क्लब विश्वकपको उपाधि जितेको हो । लिभरपुलले युरोपियन क्लब फुटबलको च्याम्पियनको हैसियतमा क्लब विश्वकपमा सहभागिता जनाएको हो ।

गत सिजन च्याम्पियन्स लिगमा लिभरपुलले बार्सिलोनालाई सेमिफाइनलमा आफ्नो घरमा भएको दोस्रो लेगमा ४–० को लज्जास्पद हार चखाउँदै लगातार चौथो वर्ष प्रतियोगिताबाट आउट गराएको थियो । त्यसअघि बार्सिलोनाले आफ्नो घरमा लिभरपुलमाथि ३–० को प्रभावशाली जित निकाले पनि दोस्रो लेगमा लिभरपुलले आफ्नो घरमा बार्सिलोनाको धुलाइ गरेको थियो । लिभरपुलले पहिलो लेगको ३–० को हार उल्टाएर समग्रमा ४–३ को नाटकीय जित निकाल्दै फाइनल पुग्यो ।

पछि लिभरपुलले फाइनलमा लिग प्रतिस्पर्धी टोटनह्यामलाई हराएर च्याम्पियन्स लिगको उपाधिसमेत जित्यो । र, उसले क्लब विश्वकपको उपाधि पनि उचाल्यो । गत राति फाइनल खेलपछि क्लोप पत्रकार सम्मेलनमा सरिक भए । सोक्रममा उनलाई गत सिजन बार्सिलोनासँगको खेलबारे सोधिएको थियो ।

‘मिरर’मा प्रकाशित समाचारअनुसार क्लोपले बार्सिलोनासँगको चमत्कारिक कमब्याक जित अझै पनि सपनाजस्तै लागिरहेको बताए । ‘मैले थुप्रैपटक भनिसकें, यो मलाई अहिले पनि सपनाजस्तै लाग्छ । ३–० को हारबीच ४–० ले बार्सिलोनालाई हराउनु वास्तविकताभन्दा बढी सपनाजस्तो थियो,’ क्लोपले भने ।

क्लोपले बार्सिलोनालाई कसरी ४–० ले हराउन सफल भइयो भनेर आफूले भन्नु भन्दा पनि बार्सिलोनाकै प्रशिक्षक र खेलाडीलाई उनीहरू कसरी हारे भनेर सोध्दा सही जवाफ आउने भन्दै व्यंग्यपूर्ण उत्तर दिए । ‘नाइँ । यो त मलई भन्दा बढी उनीहरूलाई (बार्सिलोना) लाई सोध्नुभयो भने सही जवाफ आउँछ नि !’

अर्को प्रसंगमा क्लोपले मजाक गरे । उनले आफूहरूसँग हरेक सिजन बार्सिलोनासँग खेल्ने इच्छा रहेको बताए । ‘यो सिजन मात्रै किन ? हामी त बार्सिलोनाजस्तो विश्वकै उत्कृष्ट खेलाडी भएको उत्कृष्ट टिमसँग हरेक सिजन खेल्न चाहन्छौं । र, उनीहरूलाई हराउन चाहन्छौं,’ क्लोपले हाँस्दै भने ।

प्रकाशित मिति ६ पुष २०७६, आईतवार २१:३४
Loading...