ग्वार्डिओला विश्वकै नम्बर वान प्रशिक्षक : जिदान

एजेन्सी, पुस ६
स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको खुलेर तारिफ गरेका छन् । बार्सिलोनाका पूर्वप्रशिक्षकसमेत रहेका ग्वार्डिओलालाई जिदानले विश्वकै सबैभन्दा उत्कृष्ट प्रशिक्षक भनेका छन् ।

यसपटक च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा रियल मड्रिड र म्याचेस्टर सिटीको भिडन्त हुँदैछ । प्रतियोगिताकै दुई प्रमुख उपाधि दाबेदार टिम अन्तिम १६ मै परेपछि कुनै एक टिम सुरुमै आउट हुनेछ । यस खेललाई अन्तिम १६ कै सबैभन्दा ठूलो भिडन्तका रूपमा हेरिएको छ ।

सर्वाधिक १३औं पटक च्याम्पियन्स लिग जितेको रियल यसपटक अन्तिम १६ मै आफ्नो प्रतिस्पर्धी परेपछि गत साता ग्वार्डिओलाले एक अन्तर्वार्तामा बोल्दै रियल मड्रिडलाई ‘च्याम्पियन्स लिगको राजा’ भनेका थिए । सातादिन पछि जिदानले ग्वार्डिओलाको सो भनाइप्रति प्रतिक्रिया जनाए ।

आइतबार राति रियलले वर्ष २०१९ को अन्तिम खेल आफ्नो घरमा एथ्लेटिक बिल्बाओसँग खेल्नुअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिदानले ग्वार्डिओलालाई कुनै एक क्लबको मात्रै नभएर विश्वकै सबैभन्दा शानदार कोच रहेको बताए । रियल मड्रिडबारे ग्वार्डिओलाले गरेको टिप्पणी र अन्तिम १६ मा सिटी प्रतिस्पर्धी परेको विषयमा पत्रकारले सोधेको प्रश्नमा उत्तर जिँदै जिदानले सो भनाइ राखेका हन् ।

‘उनले भनेको कुरा मैले पत्रिकामा पढें, यो उनको धारणा हो,’ जिदानले भनेका छन्, ‘हामी सबै आफ्नो काम गरिरहेका छौं । मलाई लाग्छ, दुई महिनापछि हामी एक शानदार खेल खेल्न गइरहेका छौं ।’

जिदानले ग्वार्डिओला विश्वकै उत्कृष्ट प्रशिक्षक रहेको भन्दै तारिफ गरे । ‘मलाई यो भन्न केही अप्ठेरो छैन कि, ग्वार्डिओला विश्वै उत्कृष्ट प्रशिक्षक हुन् ।’

प्रकाशित मिति ६ पुष २०७६, आईतवार २०:०१
Loading...