सुपरकोपाको फाइनलमा लाजियोले युभेन्टसलाई ‘देखाइदिने’ !

काठमाडौं, पुस ६
इटालियन कप सुपरकोपा इटालिया आज उपाधि भिडन्त हुँदैछ । साबिक च्याम्पियन युभेन्टस लगातार दोस्रोपटक सो उपाधि रक्षा गर्न लिग प्रतिस्पर्धी टिम लाजियोसँग साउदी अरेबियामा भिड्दैछ ।

सो खेलअघि लाजियोका प्रशिक्षक सिमोनी इन्जाहीले युभेन्टसलाई कडा चुनौती दिएका छन् । खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै इन्जाहीले युभेन्टसलाई कपको फाइनलमा ‘देखाइदिने’ बताएका छन् । लाजियो त्यही टिम हो, जसले गत साता यो सिजन १८ खेलसम्म अपराजित रहेको युभेन्टसलाई घरेलु लिगमा आफ्नो घरमा ३–१ ले हराएर उसको शानदार यात्रामा पूर्णविराम लगाइदिएको थियो ।

इन्जाहीले कपको फाइनलमा आफूहरू कस्तो टिम हौं भनेर युभेन्टसलाई देखाउने बताए । ‘यो उपाधि हाम्रा लागि कति महत्त्वपूर्ण छ भनेर हामी युभेन्टसलाई देखाउने छौं,’ लाजियोका कोचले भनेका छन्, ‘हामी उनीहरूलई हराएर उपाधि जित्न आतुर छौं ।’

इन्जाहीले फाइनल खेल निकै कठिन हुने पनि बताए । ‘यो खेल निकै कठिन हुनेछ । तर, हामी उपाधिका लागि ९० वा १२० मिनेटसम्म पनि संघर्ष गर्नेछौं,’ इन्जाहीले भने, ‘हामी युभेन्टसको सम्मान गर्छौं । तर, उपाधि हाम्रो एक मात्रै उद्देश्य हो ।’

प्रकाशित मिति ६ पुष २०७६, आईतवार १७:५१
Loading...