रोनाल्डोको नजर तेस्रो उपाधिमा : आज देखाउलान् जादु ?

काठमाडौं, पुस ६
इटालियन युभेन्टस आज यस सिजनको पहिलो उपाधिका रूपमा सुपरकोपा इटालियाको फाइनल खेल लाजियोसँग खेल्दैछ । साउदी अरेबियाको किङ साउद युनिभर्सिटी स्टेडियममा युभेन्टस र लाजियोबीच उपाधि भिडन्त हुनेछ । खेल नेपाली समयअनुसार राति १०ः३० बजेबाट सुरु हुनेछ ।

आज यो उपाधि भिडन्त हुँदा युभेन्टसका क्रिस्टियानो रोनाल्डो भने नयाँ क्लबमा तेस्रो उपाधिको खोजीमा हुनेछन् । गत सिजन युभेन्टसबाट दुई उपाधि जितेका उनी अब तेस्रो उपाधिबाट मात्रै एक कदम टाढा छन् ।

गएको वर्ष रोनाल्डोले युभेन्टसबाट घरेलु लिग सिरी ए सहित सुपरकोपाको उपाधि जितेका थिए । गत सिजन सुपरकोपाको फाइनलमा रोनाल्डोले नै १ मात्रै विजयी गोल हानेका थिए । उनले गत सिजन सबैखाले प्रतियोगितामा कूल २८ गोल गरेका थिए ।

यदि आज साउदीमा युभेन्टसले लिग प्रतिस्पर्धी टिम लाजियोलाई हराउँदै उपाधि जित्न सके रोनाल्डोले युभेन्टसकाट तेस्रो उपाधि जित्नेछन् । रोनाल्डो आजको खेलबाट टिमलाई महत्त्वपूर्णा उपाधि जिताएर वर्ष २०१९ लाई सुखद् अवस्थाबाट बिदा गर्न मात्रै चाहँदैनन्, यो सिजनको पहिलो उपाधि भिडन्तमा सफलतनसमेत बटुल्न चाहन्छन् ।

जारी सिजन सबैखाले प्रतियोगितामा जम्मा एक मात्रै खेल हारेको युभेन्टस आज कप जितेर यस वर्षको बिदाइ तथा यस सिजनको सुखद् थालनी गर्ने दाउमा छ ।

आजको खेलमा पनि ३४ वर्षीय रोनाल्डो केन्द्रमा हुनेछन् । पछिल्लो समय उत्कृष्ट लयमा फर्किएका रोनाल्डोले युभेन्टसबाट पछिल्ला ५ खेलमा लगातार गोल गरेका छन् । र, आफू उत्कृष्ट लयमा फर्किएको सन्देश दिएका छन् ।

आजको खेलमा पनि रोनाल्डो अघिल्ला खेलको जस्तै लय कायम राख्न चाहन्छन् । उनी आज कम्तीमा १ गोलको खोजीमा पनि हुनेछन् । आज वर्षको अन्तिम खेल खेल्दै गर्दा रोनाल्डोलाई २०१९ मा ४० गोल पूरा गर्न १ गोल आवश्यक छ । यदि आज राति १ गोल मात्रै गर्न सके रोनाल्डोले कीर्तिमानी ४० गोल गर्नेछन् ।

प्रकाशित मिति ६ पुष २०७६, आईतवार १६:५०
Loading...