‘मेस्सीसँग सम्बन्ध सुध्रिएपछि’ ग्रीजम्यान मक्ख : दिए यस्तो प्रतिक्रिया

एजेन्सी, पुस ६
स्पेनिस बार्सिलोनाका फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यान क्याम्प नोउ आएपछिको सुरुआती समयमा निकै निराश थिए । मैदानमा उनले कम मात्रै समय पाइरहेका थिए भने कप्तान लिओनल मेस्सीसँगको सम्बन्ध सुमधुर बन्न नसक्दा उनी तनावमा देखिन्थे ।

तर, समयक्रमसँगै ग्रीजम्यानको सबालमा अहिले धेरै कुरा परिवर्तन भएको छ । उनलाई प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले प्रशस्तै समय दिइरहेका छन् भने ग्रीजम्यान आफैैंले पनि राम्रो प्रदर्शन गर्दै गोल गरिरहेका छन् । जारी सिजन उनले क्लबका लागि २३ खेलबाट ८ गोल गर्दै ४ गोलमा असिस्ट गरेका छन् ।

योभन्दा पनि महत्त्वपूर्ण कुरा त अहिले बार्सिलोनाको टिममा ग्रीजम्यान र कप्तान मेस्सीबीच सम्बन्ध सुध्रिएको छ । सुरु–सुरुमा प्रशिक्षण क्याम्पमा आपसमा सिधा नजरले हेराहेर नगर्ने र कुरासम्म नगर्ने उनीहरूको अहिले टिममा पनि राम्रो साझेदारी देखिएको छ । उनीहरू व्यक्तिगत रूपमा पनि घुलमिल हुन थालेका छन् भने एकअर्कालाई गोलका लागि असिस्ट पनि गरिरहेका छन् । यसअघि ‘मेस्सीले ड्रेसिङ रुममा ग्रीजम्यानलाई बेवास्ता गर्ने र उनीसँग बोलचालसमेत नगर्ने गरेको’ चर्चा थियो ।

तर, अहिले ती दिन बदलिएका छन् । यो कुरा ग्रीजम्यान आफैंले बताएका छन् । गत राति बार्सिलोनाले वर्षको अन्तिम खेलमा आफ्नो घरमा अलाभेसलाई ४–१ ले हराउँदा ग्रीजम्यानले टिमका लागि सुरुआती गोल गरेका थिए । उनको गोलमा स्वारेजले असिस्ट गरेका थिए ।

खेलपछि मिडियासँग प्रतिक्रिया दिँदै ग्रीजम्यानले आफ्ना लागि अब राम्रो समय आएको बताए । ‘आजको गोलले मात्र हैन, पछिल्लो समय म खुसी छु । टिमले राम्रो गरिरहेको छ । र, मैले पनि राम्रो गरिरहेको छु,’ ग्रीजम्यानले भने, ‘टिमका लागि गोल गर्न पाउँदा ज्यादै खुसी छु । म यसलाई निरन्तर राख्न चाहन्छु ।’

ग्रीजम्यानले अहिले टिममा मेस्सी र स्वारेजसँग आफ्नो राम्रो साझेदारी बनिरहेको बताए । ‘पछिल्लो समय यो निकै राम्रो भइरहेको छ । हामी ३ जना नै एकअर्कालाई सहयोग गर्न र टिमका लागि गोल गर्न चाहन्छौं,’ ग्रीजम्यानले भने, ‘मेस्सी र स्वोजसँग मिलेर खेल्दा अहिले म एकदमै रमाइलो गरिरहेको छु । यहाँ आएदेखि नै म मेस्सीसँग मिलेर खेल्न चाहन्थें । अब त्यो समय आएको छ ।’

ग्रीजम्यानले आफू अब बिदामा जाँदा एक खुसी मन लिएर जाने पनि बताए । ‘नढाँटी भन्दा सुरुआती दिनमा केही कठिन भए । मभित्र एकप्रकारको निराशा पनि फैलिँदै थियो । तर, अब सबै कुरा ठीक हुँदै आएका छन्,’ ग्रीजम्यानले भने, ‘अब म बिदामा जाँदा एक खुसी र उत्साहित मन लिएर जाँदै छु । र, उस्तै ऊर्जा लिएर टोलीमा फर्किनेछु ।’

प्रकाशित मिति ६ पुष २०७६, आईतवार १२:४४
Loading...